गोरखा । धादिङको ज्यामिरेघाटमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–६ भूम्लिचोकका १६ बर्षिय मिलन थापा भएको धादिङ प्रहरीले पुष्टी गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सोमबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटस्थित सडकमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ३०६ नम्बरको हाइसले ठक्कर दिदा गंभिर घाईते भएका थिए ।
भुम्लिचोक आँपचौर निवासी मिलनको राजमार्ग अस्पताल मलेखुमा उपचार हुन नसकेर काठमाडौं बाँसबारी स्थित न्यूरो अस्पतालमा थप उपचारको लागि ल्याएको थियो । उपचारको क्रममा सोमबार राती उनको मृत्यु भएको हो । ठक्कर दिने सवारी र त्यसका चालकलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।