कुरिनटार । पछिल्लो समय देशभर डेङ्गु रोगको संक्रमण बढेसँगै चितवनको इच्छाकामना गाउँपालिकामा पनि डेङ्गु संक्रमण बढेको छ । गाउँपालिकाले उपलब्ध गराएको सूचना अनुसार पछिल्लो समय गाउँपालिकामा डेङ्गु संक्रमण बढेको पाईएको हो ।
पछिल्लो साउन महिनाको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु संक्रमण देखिएको साथै सोमबार मात्रै ७ जनामा डेंङ संक्रमण देखिएको छ ।
इच्छाकामना गाउँपालिकामा जेठ देखि डेङ्गुको संक्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा डेङ्गु संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार डेङ्गु संक्रमित बिरामी मध्य वडा नं. ५ को मात्रै ५५ जना रहेको छ । बाँकी वडा नं. ३ र ४ का ३ जनामा डेङ्गु संक्रमण पाईएको छ । संक्रमित मध्य पनि अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु रहेको उनले बताए ।
यस्तै हाल संक्रमितहरुको उपचार इच्छाकामना अस्पतालमा उपचार गराईरहेको अस्पतालका जनस्वास्थ्य निरिक्षक नवराज अधिकारीले बताए । ‘अहिले पनि अस्पतालमा ५ जना डेङ्गु संक्रमित बिरामीको उपचार भैरहेको छ’ –उनले भने । उनका अनुसार अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।
गाउँपालिकाले केहि दिन अघि मात्रै मुग्लिन बजार, शान्ती बजार क्षेत्रमा डेङ्गु रोग सम्बन्धी सचेतना र लाम खुट्टेको लार्भा खोज नष्ट कार्यक्रम संचालन गरिएको थियो र फेरि पनि सो कार्यक्रम संंचालन गर्ने तयारी गरिरहेको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिए ।