कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यामिक विद्यालयले मनपरी शिक्षक नियुक्त गर्ने गरेको पाईएको छ । विद्यालयले यहि असार महिनामा नियुक्त गरेको एक जना आशिंक शिक्षक नियुक्तीको सन्दर्भमा हदैसम्म बदमासी गरेको पाईएको हो ।
विद्यालयले शिक्षक नियुक्तीका लागि गरेको सूचना प्रकाशन देखि नियुक्तीसम्म गरेका सम्पूर्ण प्रक्रियामा बदमासी देखिएको छ । विद्यालयले २०८१ साल जेठ ३० गते विद्यालय व्यवस्थापन समितिको बैठक बसी सोही दिनको मितिमा शिक्षक आवश्यकताको सूचना विद्यालयको आधिकारिक फेसबुक प्रोफाइलमा सूचना प्रकाशित गरेको छ ।
हेर्नुस् सूचना

सूचना अनुसार विद्यालय आफैले निर्माण गरेको ‘निजी।आशिंक।ज्यालादारी शिक्षक व्यवस्थापन कार्यविधि २०८१’ अनुसार माध्यामिक तहको विज्ञान।गणित १ जना आशिंक शिक्षक विद्यालयकै स्रोतबाट तलब भक्ता खुवाउने गरी नियुक्त गर्ने भनिएको छ भने २०८१ असार २ गते कार्यालय समय भित्र इच्छुकले दरखास्त दिनुपर्ने र त्यसको भोलीपल्ट सम्पर्क गर्नुपर्ने भनिएको छ ।
सूचना सरसर्ती हेर्दा ठिकै जस्तो लाग्छ तर गहिरिएर अध्ययन गर्ने हो भने विद्यालयले जुन उम्मेद्वारलाई शिक्षकमा नियुक्त गर्न खोजिएको सोही व्यक्तिलाई मात्र सहज हुने गरी सूचना निकालेको देखिन्छ । किनकी विद्यालयले सूचना निकालेको देखि अन्तिम मिति भनेर दिएको मिति पूरै दिन विद्यालय बन्द रहेको मिति हो ।
विद्यालयले सूचना निकालेको दिने जेठ ३०, ३१ र ३२ गते इच्छाकामना गाउँपालिकाले वर्षे विदाबाट कट्टी हुने गरी गर्मी विदा दिएको थियो भने असार १ गते शनिबार परेको थियो ।
यस्तै अन्तिम दरखास्त दिने मिति भनेको असार २ गते विद्यालय आफैले वर्षे विदा कट्टा हुने गरी विद्यालय बन्द ग¥यो ।
हेर्नुस् विद्यालयले प्रकाशन गरेको सूचना

त्यसपछि असार ३ सरकारले मुस्लिम समुदायको पर्व इदको दिन भनेर देशभर सार्वजनिक विदा दियो जसका कारण विद्यालय बन्द देखिन्छ । यसरी सबै विदाको दिन विद्यालयले शिक्षक नियुक्तीको सूचनाको मिति गुजारेको देखिन्छ । त्यसपछि विद्यालयले एकैपटक २०८१ असार ५ गते एक जनाको मात्र आवेदन परेको (जसलाई नियुक्त गर्न विद्यालयले पहिले नै तयारी गरेको)ले उनलाई प्रक्रिया पु¥याई विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षकमा सफल उम्मेद्वार भएकोले नियुक्त गरेको नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन पश्चात नियुक्त भएका शिक्षक पुष्प बहादुर गुरुङले हाल उक्त विद्यालयमा पठनपाठन गरिरहेको छ । तर उनको नियुक्ती शिक्षा ऐन विपरित देखिएको छ ।
शिक्षक नियुक्तीमा कहाँ भयो झेल ?
सरसर्ती हेर्दा प्रक्रिया पुगेको भएपनि एक जना विद्यालयले चाहेको शिक्षक नियुक्त गर्न विद्यालय प्रशासनले मिलिभगतमा कतिसम्म बदमासी गरेको छ भने शिक्षा नियमावली अध्ययन गर्ने वित्तिकै छर्लङ्ग हुन्छ । शिक्षा नियमावलीमा विद्यालयले कार्यविधि निर्माण गरि विद्यालयको आन्तरिक स्रोतबाट तलब भक्ता भुक्तानी गर्ने गरी शिक्षक नियुक्त गर्न पाइने भनिएको छ । सोही अनुसार विद्यालयले ‘निजी।आशिंक।ज्यालादारी शिक्षक व्यवस्थापन कार्यविधि २०८१’ निर्माण गरि शिक्षक आवश्यकताको सूचना निकालेकै दिन कार्यविधि पारित गरेको देखिन्छ, जुन गलत छ । किनकी कार्यविधि पहिले नै निर्माण गरि सो कार्यविधिलाई टेकेर बल्ल विद्यालयले शिक्षक नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । तर विद्यालयले कार्यविधि निर्माण, शिक्षक आवश्यकताको सूचना प्रकाशन, विद्यालय व्यवस्थापन समितिको बैठक यी सबै प्रक्रिया त्यही जेठ ३० गते पूरा गरेको देखिन्छ ।

शिक्षा ऐन नियमावली विपरित अयोग्य शिक्षक नियुक्त
विद्यालयले गरेको अर्को ठुलो बदमासी भनेको शिक्षा ऐन नियमावली विपरीत अयोग्य शिक्षक नियुक्ती हो । नियमावलीले शिक्षकको लागि योग्य हुन कम्तीमा १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको हुनुपर्ने, शिक्षण अध्यापन अनुमती पत्र अनिवार्य हुनु पर्ने भनेको छ तर यो दुवै बुदाँ सर्वशान्ति माविले नियुक्त गरेको शिक्षकमा अयोग्य देखिन्छ । विद्यालयले नियुक्त गरेको शिक्षक पुष्पबहादुर गुरुङ उमेरले ५० पुगिसकेका छन् भने उनीसँग शिक्षण अध्यापन अनुमती पत्र छैन ।
यसैले शिक्षा नियमावली अनुसार उनले दरखास्तै दिन पाउदैन तर विद्यालयले शिक्षा ऐन नियमावलीलाई नै माथ खुवाउदै आफैले कार्यविधि बनाएर आफैले प्रमाणित गरि शिक्षकको योग्यता निर्धाण गरि अयोग्य शिक्षक नियुक्त गरेको छ । विद्यालयले निर्माण गरेको कार्यविधिमा नवनियुक्त शिक्षक गुरुङलाई सहज हुने गरि योग्यता निर्धारण गरेको छ । कार्यविधिको परिच्छेद ३ मा उमेरको हद र अध्यापन अनुमति पत्र शिर्षकमा बुदाँ नम्बर ‘ख’ मा आशिंक।ज्यालादारी शिक्षक व्यवस्थापन गर्दा उमेरको हद र अध्यापन अनुमति पत्रलाई सेवा प्रवेशको मापण्ड नबनाई निजको न्युनतम योग्यता र उच्च शिक्षण कौशलतालाई मुख्य आधार बनाई शिक्षक छनौट गरिनेछ भनेको छ जुन शिक्षा ऐन नियमावली विपरीत हो । यस्तो गर्न विद्यालयलाई कुनैपनि अधिकार हुदैन । तर विद्यालयले एक जना मन चाहेको शिक्षक नियुक्त गर्न हदैसम्मको बदमासी गरेको छ ।
यो सम्बन्धि विद्यालयसँग प्रतिक्रिया लिदा सो विषयको शिक्षक माग गर्दा नपाएकोले विद्यालयको सहजताको लागि सो प्रक्रिया र मापदण्डबाट शिक्षक नियुक्त गरेको सर्वशान्ति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक जोहन खरेलले बताए ।
‘शिक्षक नै नपाउने समस्या भएकोले केही प्रक्रिया मिलाएर शिक्षक नियुक्त गरेका हौं’ –उनले भने ।
तर प्रअ खरेलले दावी गरेको जस्तो समस्या देखिदैन । किनकी विद्यालयले सकेसम्म शिक्षक आवश्यकताको सूचना अरु उम्मेद्वारलाई दरखास्त नै नदिने वातावरण सिर्जना गरेको देखिन्छ । पूरै विद्यालय बन्द हुने समय पार्ने गरी सूचना जारी गर्नु शिक्षा ऐन नियमावली विपरीत अयोग्य शिक्षकलाई योग्य हुनेगरी कार्यविधि निर्माण गर्नु जस्ता कुराले शिक्षक नियुक्ती पूरै शंकास्पद देखिन्छ ।
स्थानीय सरकारसँग छैन समन्वय
यता यस सम्बन्धि विद्यालयले स्थानीय सरकार इच्छाकामना गाउँपालिकासँग कुनै समन्वय नै नगरेको पाईएको छ । विद्यालयले आफै नियुक्त गर्न पाउने भएपनि स्थानीय सरकारको शिक्षा शाखासँग समन्वय गर्नुपर्ने भने हुन्छ । तर शिक्षा शाखालाई कुनै जानकारी नै नभएको इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार उक्त शिक्षक नियुक्ती विषयमा अहिलेसम्म विद्यालयले शिक्षा शाखालाई कुनै जानकारी दिएको छैन । ‘अब यस विषयमा विद्यालयसँग विवरण माग्नेछौ’ –उनले भने ।
लुकाईयो सूचना
यस विषयमा इच्छाकामना न्युजले विद्यालय प्रशासनलाई सूचना माग गरिएको थियो तर विद्यालयले हामीले माग गरेको बमोजिमको सूचना उपलब्ध नगराई लुकाएको छ । विद्यालयले हामीलाई कार्यविधि, सूचना र नतिजा प्रकाशनको पत्र मात्र उपलब्ध गराएको छ । बाँकी कुनै पनि सूचना दिन नमिल्ने भन्दै उपलब्ध गराएन ।
