Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

images

रासस

२१, आषाढ २०८१
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
images

म्याग्दी । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

‘रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्’, बुधवार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको लाममा फसेका उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ।’

मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए। ‘पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ’, उनले भने, ‘हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ।’

रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ। सडकमाथि पहाडको डिल छ। पहाडमाथिको पाखो सडकबाट देखिँदैन। पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताए।

दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो। गत वर्ष बैसरीको पहिरोमा पुरिएर एकजना सवारी चालकको ज्यान गएको थियो। मङ्गलवार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान पुरिएको थियो। यसअघि जेठ अन्तिम साता गुइठेभिरमा गुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो।

पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाका अनुसार १४ वटा पहिरो छन्।

‘पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ’, उनले भने, ‘बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ।’

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो।

बैसरी पहिरोको बुधवार स्थलगत निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी दिए।

images
प्रकाशित मिति :आषाढ २१, २०८१ बिहिवार - ०८:३५:४६ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology