कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । असार ६ गते बिहिबार सुरु भई आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाकाले सोमबार आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको हो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष माया सिलवालले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि ७७ करोड ८८ लाख ९२ हजार रुपैयाँको बजेट सभामा प्रस्तुत गरि पारित गरिएको छ । उपाध्यक्ष सिलवालले सभामा बजेट प्रस्तुत गर्दै संघीय सरकारबाट ४७ करोड ४२ लाख, प्रदेश सरकारबाट ७ करोड ८ लाख ३४ हजार, संघीय राजश्व बाँडफाँटबाट ९ करोड ९८ हजार, प्रदेश राजश्व बाँडफाँटबाट ३ करोड ९ लाख ६४ हजार ९ सय र आन्तरिक आय १० करोड ३० लाख ९३ हजार १ सय आय हुने अनुमान गरिएको बताए ।

सो मध्ये सघं एवम् प्रदेश सरकारको हस्तान्तरित अनुदान फिर्ताका लागि ३ करोड २० लाख साथै आव २०८०।०८१ को भुक्तानी बाँकीको लागि १ करोड विनियोजन गरिएको गरिएको उनले बताए । उपाध्यक्ष सिलवालका अनुसार नेपाल सरकार तथा प्रदेश सरकारबाट समेत शसर्त अनुदान तर्फका कार्यक्रमहरु चालु खर्च शीर्षकमा हस्तान्तरण भै आएकोले चालु खर्चको हिस्सा ५५.२४ प्रतिशत साथै पूँजिगत खर्चको हिस्सा ४४.७६ प्रतिशत हुने अनुमान गरिएको छ।

गाउँपालिकाले सामाजिक विकास तर्फ सबै भन्दा बढी बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु। ३५ करोड ५ लाख १ हजार विनियोजन गरिएको हो । पूर्वाधार विकास तर्फ २३ करोड ३६ लाख ६८ हजार, आर्थिक विकास तर्फ ६ करोड २३ लाख ११ हजार ,वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड २४ लाख ६२ हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ११ करोड ९९ लाख ४९ हजार विनियोजन गरिएको छ ।

यसैबिच गाउँसभाबाट ३ वटा ऐन समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनका अनुसार सभाले आर्थिक ऐन २०८१, विनियोजन ऐन २०८१ र कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन २०८१ पारीत गरिएको छ ।




