Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनाको आगामी वर्षको निति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनमा जोड (यस्तो छ पूर्ण पाठ)

इच्छाकामनाको आगामी वर्षको निति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनमा जोड (यस्तो छ पूर्ण पाठ)

images

इच्छाकामना न्युज

८, आषाढ २०८१
इच्छाकामनाको आगामी वर्षको निति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनमा जोड (यस्तो छ पूर्ण पाठ)
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरि पारित गरिएको छ । बिहिबार गाउँपालिकाको सभाहलमा आयोजित १५ औं गाउँसभामा  अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरि सर्वसम्मत रुपमा पारित गरिएको हो । 

अध्यक्ष गुरुङले गाउँसभामा प्रस्तुत गरेको निति कार्यक्रमको पूर्णपाठ यस्तो रहेको छ । 

 

आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम

सम्मानित सभाका सदस्यज्यूहरु

प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत उपस्थित सम्पूर्ण कर्मचारीहरु

देशमा गणतन्त्र एवं लोकतान्त्रिक सङ्घीय शासन व्यवस्था स्थापनाका लागि बलिदानपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नु हुने वीर शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।आन्दोलनमा घाइते भएका/अपाङ्ग हुनुहुने एवं आन्दोलनलाई दिशानिर्देश गर्नुहुने आदरणीय शहीदहरु, नेता एवं समस्त नेपाली जनता प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।

  • नेपाली जनताको बलिदानपूर्ण विभिन्‍न चरणका आन्दोलनहरुबाट प्राप्त वर्तमान सङ्घीय शासन व्यवस्थाको आधार स्तम्भको रुपमा रहेको जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारसँग जनतामा अपेक्षा बढ्दै जानु स्वाभाविक हो। सीमित स्रोत र साधनबाट जनताका बढ्दै गएका आवश्यकताहरु परिपूर्ति गर्नु आफैमा एउटा चुनौतिपूर्ण कार्य हो। तथापि गाउँपालिकाबाट बहुआयामिक र बहुक्षेत्रगत कार्यको संयोजन गरी जनतालाई बढी आश्वासन वितरण गर्ने परम्परालाई तोड्दै वास्तविक र कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउँदछु ।
  • यस गाउँपालिकाका जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको नेतृत्वमा जनताले हामीलाई निर्वाचित गरेपछिको दुई आर्थिक वर्षको समाप्तिसँगै विकास निर्माणमा सहयोग गर्नुहुने सङ्घीय सरकार, प्रदेश सरकार, राजनीतिक दल, कर्मचारी प्रशासन, नागरिक समाज, निजी क्षेत्र, गैर सरकारी सङ्घ/संस्था, टोल विकास संस्थाहरु तथा आम जनसमुदायको रचनात्मक एवं सिर्जनात्मक सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमासमेत सोही अनुसारको सहयोगको अपेक्षा गरिएको बेहोरा अनुरोध गर्न चाहन्छु
  • "सुखी खुशी समृद्ध इच्छाकामना; कृषि पर्यटन पूर्वाधार विकास हाम्रो चाहना" भन्ने नारालाई आत्मसात् गर्दै समग्र इच्छाकामना गाउँपालिका क्षेत्र भित्रका विकासका कार्यहरुसँगै आम जनताका उच्च अपेक्षाहरुको सम्बोधन गरी अगाडि बढ्न हामी जनप्रतिनिधिहरु र कर्मचारीहरु सदैव तत्परताका साथ लागि पर्ने प्रण गर्न चाहन्छौँ।
  • विकासको क्रममा पछाडी परेका वर्ग, क्षेत्र र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गरी आर्थिक गतिविधिहरुको माध्यमद्वारा रोजगारीको अवसर सृजना गर्ने, कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकीकरण गर्ने, सुशासन प्रबर्द्धन गरी सेवा प्रवाहमा प्रभावकारिता कायम गर्ने, पर्यटन क्षेत्रको विकास गर्दै यसबाट प्राप्त लाभ सबै क्षेत्रसम्म समानुपातिक तरिकाबाट पुर्‍याउने, वातावरणीय सन्तुलनलाई कायम राख्ने, भौतिक पूर्वाधारको विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासलाई संस्थागत गरी सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसहित अपेक्षित विकासको प्रतिफल हासिल गर्ने एवं आन्तरिक आयको दायरालाई फराकिलो बनाउने र नेपालको संविधानको अनुसूची ८ मा व्यवस्था भए बमोजिमका कानून निर्माण तथा कार्यान्वयन गर्ने तर्फ यस वर्षका नीति तथा कार्यक्रमहरु लक्षित गरिएको बेहोरा अनुरोध गर्न चाहन्छु।

सम्मानित सभाका सदस्यज्यूहरु

अब म गत आर्थिक वर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रमको संक्षिप्‍त उपलब्धि प्रस्तुत गर्न चाहन्छु।

  • इच्छाकामना आधारभूत अस्पतालमा २४ सै घण्टा चिकित्सक र प्रयोगशालासहितको सेवा सुचारु गरिएको छ। उक्त अस्पतालको भवन निर्माणलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ।
  • गाउँपालिका भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुबाट तोकिए बमोजिमका औषधीहरु निशुल्क उपलब्ध गराइएको छ। साथै विशेषज्ञ सहितको घुम्ती स्वास्थ्य शिविरमार्फत विशेषज्ञ सेवा वडा तह सम्म पुर्‍याइएको छ।
  • विपन्‍न नागरिकहरुको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरी विपन्‍न नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अति विपन्‍न असहाय गर्भवती र दुर्घटनामा परेका नागरिकहरुका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ। अति विपन्‍न सुत्केरी महिलाहरुलाई पोषण प्याकेजको कार्यक्रम सञ्चालन गरिएको छ।
  • गाउँपालिका क्षेत्र भित्र रहेका विपन्‍न नागरिक, जेष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाहरुलाई घर-घरमा पुगि नि:शुल्क औषधीसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
  • दीर्घरोगीहरुलाई गाउँपालिका, सङ्घीय सरकार र प्रदेश सरकारबाट उपलब्ध गराइने औषधी उपचारको सेवालाई सहज र सरल तरिकाबाट छिटो र छरितो रुपमा उपलब्ध गराइएको छ। सरकारी अस्पतालमा छिटो उपलब्ध नहुने स्वास्थ्य सेवालाई आम पालिकाबासीको पहुँचभन्दा बाहिर जान नदिन र सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन निजी स्वास्थ्य संस्थासँग सम्झौता गरी २५ प्रतिशतसम्म छुट हुने ब्यवस्थालाई सुनिश्चित गरिएको छ।
  • शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने अभियानलाई सफल पार्नको लागि गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं विभिन्‍न युवा क्लवस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ।
  • गाउँपालिका क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक एवं भौतिक पूर्वाधार सुधार योजना क्रमश: सञ्चालन गरिँदै लगिएको छ। विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला र ECED कक्षा व्यवस्थापन, विद्यालय करेसाबारी सञ्चालनसहित कार्यसम्पादनमा आधारित अनुदान उपलब्ध गराइएको छ।
  • विद्यालयमा अभाव हुने विषयगत शिक्षकहरुको व्यवस्थापनको लागि गाउँपालिका अनुदान शिक्षक र स्वयंसेवक शिक्षक व्यवस्थापन गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गरिएको छ। जसको प्रभाव स्वरुप शैक्षिक उपलब्धिमा सुधार भएको छ।
  • स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउनको लागि स्थानीय पाठ्यक्रम अनुसार पाठ्य सामग्रीको निर्माण अन्तिम चरणमा रहेको छ। आधारभूत तहको अन्तिम परीक्षा गाउँपालिकाबाट सञ्चालन गरी समयमा नै नतिजा प्रकाशन गरिएको छ। अति विपन्‍न र जेहनदार विद्यार्थीहरुका लागि गाउँपालिका कार्यालयबाट थप छात्रवृत्ति प्रदान गर्ने कार्य सम्पन्न भएको छ।
  • करार शिक्षकहरुको छनोट गाउँपालिकाबाट तयार गरिएको कार्यविधि र शिक्षक सेवा आयोगको पाठ्यक्रम बमोजिम सहज, गोपनीय र विश्वसनीय तरिकाबाट गाउँपालिका कार्यालयबाट हुने गरेको छ। जसले गर्दा विद्यालयहरुमा समयमा योग्य करार शिक्षकको व्यवस्थापन हुन पुगेको छ र शिक्षक छनोट गर्दा हुने विद्यालयको आर्थिक भारलाई हटाएको छ।
  • गाउँपालिकास्तरीय शैक्षिक पात्रो तयार गरी सोही बमोजिम विद्यालयहरुमा शैक्षिक क्रियाकलापहरु सञ्चालन गरिएकाले विद्यालयको पठनपाठनलाई अनुमानयोग्य बनाइएको छ।
  • “मेरो पूर्वाधार, मेरो पौरख र मेरो गौरव” भन्ने अवधारणालाई पूर्णता दिइएको छ।
  • नयाँ बन्ने घर तथा भवनको लागि अनिवार्य रुपमा नक्सा पास हुनुपर्ने व्यवस्था कार्यान्वयन गरिएको छ। पुराना घरहरुको अभिलेखीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
  • नेपाल बिद्युत प्राधिकरणसँगको सहकार्यमा गाउँपालिकाको सबै वडाहरुमा बिद्युत विस्तार गरी पूर्ण बिद्युतीकरण र उज्यालो इच्छाकामना गाउँपालिका घोषणा भएको छ।
  • बढी उत्पादकत्व भएका कृषियोग्य जमिनमा थप सिञ्‍चाइ सुविधाको विस्तार भएको छ।
  • अधुरा रहेका पूर्वाधारहरुको निर्माण सम्पन्न गरी उक्त सम्पन्न संरचनाबाट सेवा प्रवाहलाई सुनिश्चित गरिएको छ।
  • स्थानीय स्रोत साधन र श्रमको उच्चतम उपयोगसहित प्राथमिकता प्राप्त  न्यून लागत छिटो प्रतिफल दिने जनसहभागितामूलक र समावेशीकरणलाई आत्मसात् गर्ने योजनाको निर्माण र सञ्चालनलाई विशेष प्राथमिकता दिइएको छ।
  • समयमा कार्यसम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानून बमोजिम कारबाही गरिएको छ। उपभोक्ता समितिको क्षमता विकास गर्ने कार्यलाई निरन्तरता दिइएको छ। उपभोक्ता समितिलाई अनिवार्य रुपमा दर्ता गर्ने र योजना सम्पन्न भए पश्चात् निर्मित संरचनाको संरक्षण र सम्भारका लागि उपभोक्ता समितिलाई नै जिम्मेवार बनाइएको छ।
  • सुरक्षित खानेपानीको सहज र भरपर्दो पहुँच विस्तारको लागि एक घर एक धारा कार्यक्रम तीव्र रुपमा सञ्चालन गरिएको छ।
  • गाउँपालिका कार्यालय, राष्ट्रिय राजमार्ग र वडा कार्यालय जोड्ने सडकहरुको स्तरोन्नती सहित बाह्रै महिना सहज रुपमा सडक सञ्चालनको लागि कालोपत्रे, RCC र PCC ढलान सहितको गुणस्तरीय सडक निर्माणको कार्य तीव्र रुपमा सञ्चालन गरिएको छ।
  • कृषि बाली र पशुपंक्षीमा देखा पर्ने रोग नियन्त्रणको लागि गाउँपालिकास्तरीय QRT “शिघ्र प्रतिक्रिया टोली” गठन तथा परिचालन गरिएको छ ।कृषिजन्य बाली र पशुपंक्षीमा देखा पर्ने रोग नियन्त्रणको लागि तोकिए बमोजिमका औषधीहरु नि:शुल्क रुपमा कृषकहरुलाई उपलब्ध गराइएको छ।
  • कृषकको उत्पादनलाई सिधै बजारसँग पहुँच स्थापना गर्नको लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ। तरकारी, सुन्तला, कागती र चिउरीको वेर्ना खरिद गर्दा बाहिरिने रकमलाई रोक्न तथा स्थानीय कृषकको क्षमता अभिवृद्धिसहित थप आय आर्जनको वातावरण सृजना गर्नको लागि तरकारी र फलफूलको नर्सरी स्थापना गर्ने कार्यलाई जोड दिइएको छ।
  • साना सिञ्‍चाइ र थोपा सिञ्‍चाइ कार्यको सम्पन्नता सँगै कृषि उत्पादनमा थप योगदान पुगेको छ। सुन्तला खेतीलाई थप व्यवस्थित र उचित प्रचार-प्रसारको व्यवस्था मिलाइएको छ। प्रथम इच्छाकामना सुन्तला महोत्सव सम्पन्न भई सुन्तला राष्ट्रिय फलको रुपमा घोषणा भएको छ। जसको सकारात्मक प्रभावको कारण सुन्तला खेतीतर्फ किसानको आकर्षण बढेको छ।
  • फिस्लिङ तरकारी सङ्कलन केन्द्रमा चिस्यान केन्द्रको स्थापना भएको छ।
  • चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
  • गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको समग्र पक्षको अध्ययनसहित प्राप्त प्रतिवेदनको आधारमा थप सुधार तथा नियमन गर्न गाउँपालिकास्तरीय सहकारी अनुगमन समिति गठन भई अध्ययन कार्यको थालनी गरिएको छ।
  • सहकारी सञ्चालकहरुको क्षमता विकास गर्नको लागि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका महत्वपूर्ण धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक सम्पदाहरुमा भौतिक पूर्वाधार निर्माण सँगै भएको प्रचार-प्रसारको उचित व्यवस्थापनको कारण गाउँपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भएको छ ।
  • स्थानीय भाषा, कला, संस्कृति, परम्परा र साहित्यको संरक्षणमा विशेष ध्यान दिइएको छ।
  • इच्छाकामना गाउँपालिकाको सन्तुलित विकासको लागि सहकार्य, समन्वय र साझेदारीको अवधारणालाई आत्मसात् गरिएको छ।
  • "स्थानीय उत्पादनको उपयोग; कृषकहरुलाई सहयोग" भन्ने अवधारणालाई मूर्तरुप दिन आयातित पेय पदार्थको उपभोगलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप स्थानीय मोही र सर्वत पिउने असल बानीको थालनी भएको छ। जुन कार्यले राष्ट्रव्यापी सकारात्मक सन्देशको थालनी सहित कृषकहरुमा थप हौसला प्रदान गरेको छ।
  • जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुको परिचयपत्र नविकरणसहित गाउँपालिकाको कार्यालयबाट जारी गरिएको छ। जेष्ठ नागरिक तथा फरक क्षमता भएका नगरिकहरुका लागि न्यानो कपडा वितरण एवं थप आय आर्जनका कार्यक्रमसहित अनुदान वितरण र दैनिक जीवनलाई सहज बनाउन सहायक सामाग्रीको वितरण गरिएको छ ।
  • सामाजिक कुसंस्कार र गैरकानूनी कार्यको अन्त्यका लागि नेपाल प्रहरी, गैर सरकारी संस्था र टोल विकास संस्थाको सहयोग र सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्। जसको सकारात्मक प्रभाव समाजमा देखिन थालेको महशुस भएको छ।
  • गाउँपालिकाको बजार क्षेत्रभित्र रहेको फोहर व्यवस्थापन गाउँपालिका र गैर सरकारी संस्थाको सहकार्यमा भइरहेको छ। फोहरलाई स्रोतमै वर्गीकरण गरी उचित व्यवस्थापन गर्नको लागि चेतनामूलक र क्षमता विकास कार्यहरु सञ्चालन भइरहेको छ।
  • प्राकृतिक एवं मानवीय कृयाकलापबाट सृजित विपद्‍बाट पीडित व्यक्ति तथा परिवारलाई तत्काल राहत प्रदान गरी पुन:र्स्थापनाको कार्य निरन्तर भइरहेको छ।
  • सामुदायिक वनहरुसँगको सहकार्य र साझेदारीमा वन तथा वातावरण संरक्षण र परम्परागत रुपमा रहेका पानीका मुहान संरक्षणको कार्यहरु भइरहेका छन्। जलवायु परिवर्तन अनुकुलित भौतिक संरचना निर्माण र प्रयोग मानवीय व्यवहार र खेतीप्रणालीको बारेमा नागरिक सचेतना कार्य निरन्तर भइरहेको छ।
  • स्थानीय आवश्यकता र मागमा आधारित रोजगारी सृजना गर्न गाउँपालिका अध्यक्षसँग जेष्ठ नागरिक र युवा उपाध्यक्षसँग आमा समूह र किशोरी कार्यक्रम मार्फत सीप र क्षमता विकासका कार्यलाई तीव्रता दिइएको छ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानीय स्रोत, सीप र श्रमको उच्चतम उपयोग गरिएको कारण बेरोजगार नागरिकको आम्दानीमा थप मद्दत पुगेको छ।
  • बैदेशिक रोजगारीमा जाने नागरिकलाई लक्षित गरी सीप विकास र सिकेको सीपको परिक्षण सम्बन्धी व्यवस्था गरिएको छ। उक्त समूहलाई लक्षित गरी बैदेशिक रोजगार सचेतना कार्य निरन्तर भइरहेको र गाउँपालिकाको कार्यालयबाट नि:शुल्क रुपमा श्रम स्वीकृतिको कार्य सम्पादन भइरहेको छ।
  • बैदेशिक रोजगारीबाट प्राप्त भएको ज्ञान, सीप र पूँजीलाई सदुपयोग गर्न वित्तीय साक्षरता अभियान टोल-टोलमा सञ्चालन भइरहेको साथै लक्षित वर्गमा मनोसामाजिक परामर्शको कार्य समेत निरन्तर प्रदान भइरहेको छ।
  • गाउँ कार्यपालिकाको कार्यालय र मातहतका अन्य कार्यालयहरुबाट प्रवाह गरिने सार्वजनिक सेवालाई चुस्त, पारदर्शी, जनमुखी, जवाफदेही, नागरिक सहभागिता र कर्तव्यबोध हुने गरी कार्यसम्पादन गर्नको लागि यस आर्थिक वर्षमा गाउँपालिकाले थप २१ वटा कानून निर्माण गरी कार्यसम्पादन गरिरहेको छ। सीमित स्रोत र साधन, जनशक्ति र क्षमताको चुनौतिलाई सामना गर्दै सार्वजानिक सेवा प्रवाहलाई गुनासो रहित बनाउने प्रयास निरन्तर गरिएको छ।
  • गाउँपालिका अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखा प्रमुख बीच कार्यसम्पादन करार सम्झौता गरी राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादनलाई व्यवस्थित गरिएको र कार्यसम्पादनलाई कर्मचारीको वार्षिक मूल्याङ्कनसँग आबद्ध गरिएको छ।
  • भ्रष्टाचारजन्य कार्यमा गाउँपालिकामा शुन्य सहनशीलताको नीति कार्यान्वयन गरिएको र सार्वजनिक सेवा प्रवाह मापदण्ड लागू गरिएको छ।
  • करको दर भन्दा पनि करको दायरा फराकिलो गर्ने गरी नीति तथा कार्यक्रमको तर्जुमा र सोही अनुरुप कार्यसम्पादन गरिएको साथै करदाता शिक्षालाई प्रभावकारी रुपमा सरोकारवाला पक्षसँग समन्वय र सहकार्य भइरहेको छ। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनले दिएको सुझाब अनुसार कर्मचारीको व्यवस्थापनमा जोड दिइएको छ।
  • न्यायिक समितिबाट सम्पादन गरिने कार्यलाई छिटो र छरितो बनाउँदै थप क्षमता विकासको कार्य भइरहेको छ। न्यायिक समितिलाई कार्यसम्पादनमा सहजता ल्याउनको लागि न्यायिक इजलाससहित इजलास कक्षको व्यवस्था गरिएको छ।
  • वडास्तरीय अनुगमन समिति र गाउँपालिकास्तरीय अनुगमन समितिबाट नियमित रुपमा योजना र बजारको अनुगमन गरी योजनाको पारदर्शिता अभिवृद्धि गर्ने र उपभोक्ताको हित संरक्षणको लागि निरन्तर कार्य भइरहेको छ। जसको प्रतिवेदन नियमित रुपमा कार्यपालिकाको बैठकमा पेश भई आवश्यक छलफल गर्ने व्यवस्था समेत गरिएको छ। टोल­-टोलमा टोल विकास समिति गठनसहित समितिलाई सशक्तीकरण गर्ने कार्य भइरहेको छ।
  • गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाईहरुमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ। जसले गर्दा गाउँपालिकाको कार्यालयबाट नै कार्यरत कर्मचारीको अनुगमन र नियन्त्रण प्रणालीको विकास गरिनुका साथै विद्युतीय हाजिरीलाई आधार मानी सेवा सुविधा भुक्तानीको व्यवस्था गरिएको छ।
  • सार्वजनिक सेवा वडापत्रमा उल्लेख भएबमोजिम प्रक्रिया पुरा गरी सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको समयभित्र नै मुस्कान सहितको सेवा र प्रक्रिया पुरा गर्न नसक्ने सेवाग्राहीलाई सहज रुपमा सेवा लिने प्रक्रियाको बारेमा परामर्शसहित लिखित रुपमा नै प्रक्रिया र कागजातको बारेमा जानकारी दिने ब्यवस्था गरिएको छ।
  • गाउँ सभा तथा गाउँ कार्यपालिकाले गरेका निर्णय, कार्यालयले गरेका नियमित कार्यसम्पादनको विवरण, विभिन्‍न सार्वजनिक सूचनाहरु, जानकारीहरु र सार्वजनिक सरोकारको विषयहरुलाई गाउँपालिकाको आधिकारिक वेभसाइटमार्फत नियमित सार्वजनिक गर्ने परिपाटी मिलाइएको छ।
  • जनताको गुनासो सुनुवाईका लागि नियमित रुपमा नागरिक मूल्याङ्कनका औजारहरु कार्यान्वयनमा ल्याइएको, गाउँपालिका र पत्रकारहरुबीच संवाद कार्यक्रम भइरहेको, विभिन्‍न माध्यमहरुबाट प्राप्त हुने गुनासो सम्बोधन र सुझाबहरुको कार्यान्वयनमा जोड दिइएको, गुनासो सुन्ने पदाधिकारी र कर्मचारीको व्यवस्था गरिएको छ।
  • गाउँपालिका अन्तर्गत रहेका सबै पदाधिकारी र कर्मचारीबीच पर्याप्त रुपमा समन्वय, सहकार्य, समझदारी, निर्णय र कानूनको पालनामा प्रतिबद्धता भएका कारण गाउँपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएको, योजना कार्यान्वयन हुनुभन्दा पहिले नै उपभोक्ता समितिलाई प्रशिक्षण दिइएको, कानूनको परिपालनालाई जोड दिइएको, वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रणलाई कडाइका साथ लागू गरिएकाले कार्यालयको बेरुजु घट्दै गएको छ।

चालु आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रमको संक्षिप्‍त विश्‍लेषण

          चालु आ.व. का लागि इच्छाकामना गाउँपालिकाको तेह्रौँ अधिवेशनबाट स्वीकृत भई कार्यान्वयन भएको नीतिले गाउँपालिकाबासी र आम जनसमुदायमा सुधारको अनुभूतिका साथै आशा र भरोसाको सञ्चार गरेको छ। गाउँसभाबाट पारित नीति तथा कार्यक्रमहरुले इच्छाकामना गाउँपालिकाको भविष्यलाई सुनिश्चित गर्नुपर्ने हुन्छ। यस २ वर्षको अवधिको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट प्राप्त उपलब्धि उत्कृष्ट रहेको देखिन्छ। यद्यपी चालु आ.व. को नीति तथा कार्यक्रमको विश्‍लेषण गर्दा शत प्रतिशत कार्यान्वयनमा आउन सकेको देखिँदैन। तर पनि नीतिले निर्दिष्ट गरेका कतिपय कार्यक्रम कार्यान्वयनमा सङ्घीय तथा प्रदेश सरकारबाट हस्तान्तरित वित्तीय हस्तान्तरणबाट प्राप्त हुनुपर्ने रकम, राजश्व बाँडफाँटको अनुमानित रकम र आन्तरिक राजश्व अपेक्षित रुपमा प्राप्त नभएका कारण अपेक्षाकृत नतिजा प्राप्त हुन सकेको छैन। गाउँ सभाबाट पारित भएका नीति तथा कार्यक्रमको शत प्रतिशत कार्यान्वनका लागि संस्थागत क्षमता वृद्विका साथै आवश्यक संस्थागत तथा कानूनी प्रबन्धको थप व्यवस्था गरी स्वीकृत कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन पद्धतिको विकास गर्न आवश्यक छ।

सभाका सदस्यज्यूहरु,

अब म आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि नीति तथा कार्यक्रम पेश गर्ने अनुमति चाहन्छु।प्रस्तुत हुने नीति तथा कार्यक्रम नेपालको संविधानको भाग ४ को धारा ४९, ५० र ५१ अनुसार राज्यले तय गरेको दायित्व, निर्देशक सिद्वान्त र नीतिहरुलाई स्वीकार गर्दै संविधानको अनुसूची ८ ले दिएको स्थानीय तहको अधिकार क्षेत्रमा रही निर्माण गरिएको छ ।पूर्वाधार निर्माण, सामाजिक क्षेत्रको विकास, आर्थिक विकास र सार्वजनिक सेवा प्रवाह लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार गरिएको छ।हामी बीचमा रहेको सीमित स्रोत र साधनहरुको न्यायोचित प्रयोग गर्दै हाम्रा असिमित आवश्यकता र चाहनाहरुलाई योजनाबद्व ढङ्गले क्रमिक रुपमा गर्ने प्रतिबद्वता व्यक्त गर्दै आगामी आर्थिक वर्ष २०८१/०८२ मा  यस गाउँपालिकाले अवलम्बन गर्ने क्षेत्रगत नीति तथा कार्यक्रम पेश गर्न चाहन्छु।

सामाजिक विकास नीति

  • “सुलभ स्वास्थ्य सेवा; नागरिकलाई टेवा” अभियान अन्तर्गत इच्छाकामना आधारभूत अस्पतालको निमार्णलाई तीव्रता दिइनेछ। २४ सै घण्टा प्रयोगशाला सेवासहितको चिकित्सकीय सेवालाई थप सुदृढीकरण गरिनेछ। यस अस्पतालबाट आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ।
  • स्वास्थ्यमा सर्वव्यापी पहूँचको अवधारणा अनुरुप प्रबर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुन:र्स्थापनात्मक सेवालाई एकीकृत रुपमा विकास र विस्तार गरिनेछ। अति विपन्‍न नागरिक, सुत्केरी महिला, दुर्घटनामा परेका र विपद्‍मा परेका नागरिकहरुको लागि निःशुल्क एवं प्रभावकारी एम्बुलेन्स सेवा सञ्चालनलाई निरन्तरता दिइनेछ।
  • स्वास्थ्य संस्थामा तोकिएका औषधीहरुको निःशुल्क उपलब्धतालाई गुणस्तरीयतासहितको सुनिश्चितता गरिनेछ। बालिका बचत कार्यक्रमलाई थप व्यवस्थित गर्दै निरन्तरता दिइनेछ।"रक्तदान जीवन दान" भन्ने नाराका साथ गाउँपालिकाद्वारा विभिन्‍न अवसरहरुमा रक्तदान शिविर सञ्चालन गरिनेछ।
  • विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर वडा तहसम्म सञ्चालन गरी जटिल एवं कडा रोगको उपचारमा सहजता ल्याइनेछ। महामारीजन्य रोगहरुको रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि पूर्व तयारीसहित आवश्यक स्रोत र साधनको व्यवस्था मिलाइनेछ। प्राकृतिक चिकित्साको उचित विकास र प्रयोगको व्यवस्था मिलाइनेछ।
  • स्वास्थ्य संस्थाहरुको सृदृढीकरणका लागि सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ। गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको आवश्यक भवन निर्माण र मर्मत सम्भारको कार्यलाई निरन्तरता दिइनेछ।
  • ज्येष्ठ नागरिक, वालवालिका र गर्भवती महिलाहरुको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइनेछ। गर्भवती महिलालाई नि:शुल्क प्रयोगशाला सेवा उपलब्ध गराइनेछ। ZERO HOME DELIVERY को अभियान पुरा गर्न लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।
  • दीर्घ रोगीहरुका लागि गाउँपालिका साथै नेपाल सरकारबाट उपलब्ध गराइने औषधी उपचार सेवाको सहजीकरण एवं समन्वयलाई थप सुदृढ तुल्याइनेछ। स्वास्थ्य संस्थाबाट निस्कने फोहर व्यवस्थापनलाई प्रभाकारी बनाइनेछ। स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैर सरकारी क्षेत्रबीच समन्वय, सहकार्य र साझेदारीलाई थप व्यवस्थित एवं प्रभावकारी बनाइनेछ।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक रुपमा गाउँपालिकाबाट प्रदान गरिने प्रोत्साहन रकमको निरन्तरता गरिनेछ। अति विपन्‍न नागरिकहरुका लागि स्वास्थ्य उपचार सहायता खर्चलाई थप व्यवस्थित गरी प्रभाकारी रुपमा वितरणको व्यवस्था मिलाइनेछ। साथै विपन्‍न नागरिक स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • “गाउँपालिकाको इच्छा; गरिखाने शिक्षा” स्वर्णिम योजना अन्तर्गत सीपमूलक र व्यवहारिक शिक्षा सहित सुविधा सम्पन्न ECED कक्षा व्यवस्थापन, जीवन उपयोगी शिक्षा, मेरो विद्यालय म बनाउँछु, विद्यालयको सुन्दरता र हराभरामा विद्यार्थीहरुको सक्रिय सहभागिता,विद्यालय तहमा स्काउट,रेडक्रस लगाएतका स्वंमसेवक समुहहरुको गठन र क्षमता विकास, शिक्षकमा समयसापेक्ष शैक्षणिक क्रियाकलापको विकास, शिक्षा क्षेत्रमा भएका नवीनतम् प्रयोगहरुको उपयोग गर्दै विद्यालयमा विद्यार्थीको भर्नादरमा वृद्धि र कक्षा छोड्ने दरको न्यूनीकरण गरिनेछ। साथै टोल टोलमा अभिभावक शिक्षा अभियानको रुपमा सञ्चालन गरिनेछ।
  • "शारीरिक एवं मानसिक स्वास्थ्यका लागि खेलकुद" भन्ने नाराका साथ गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरी खेलकुद क्षेत्रको विकास गरिनेछ।
  • अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि सामाजिक जागरणका कार्यक्रम सञ्चालन गरिनेछ।सर्वशान्ती माविलाई गाउँपालिकाको नमुना विद्यालयको रुपमा विकास गरिनेछ ।
  • विद्यालयको पूर्वाधार विकासका लागि जीर्ण विद्यालय पुनःनिर्माण र कक्षाकोठा सुधार कार्यक्रम सञ्चालन गरिने छ। हरेक शुक्रबार विद्यालयहरुले अनिवार्य रुपमा ECA कार्यक्रम सञ्चालन गर्नुपर्ने र रमाईलो शुक्रबार (FUN FRIDAY) लाई अभियानको रुपमा लगिनेछ।
  • गाउँ शिक्षा योजनाको कार्यान्वयनद्वारा शैक्षिक गुणस्तरको सुधारमा जोड दिइने छ। शैक्षिक पात्रोको पूर्णरुपमा कार्यान्वयन गरी गाउँपालिका भित्रको शैक्षिक गतिविधिलाई अनुमानयोग्य बनाइनेछ।
  • गाउँपालिका स्रोत करार शिक्षक र स्वयंसेवक शिक्षक व्यवस्थापनको कार्यलाई निरन्तरता दिँदै अझ बढी प्रभावकारी तुल्याइनेछ।
  • विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व पूर्ण रुपमा पालना गराउन कार्यविधि बनाई कार्यान्वयन गरिनेछ।
  • स्थानीय उत्पादनको प्रबर्द्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानीय आवश्यकता अनुसारको सीप विकास गर्न "एक विद्यालय एक करेसाबारी; एक विद्यालय एक पूर्वाधार" सुधार कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ।
  • जीवन उपयोगी स्थानीय पाठ्यसामग्री निर्माण गरी पाठ्यसामग्रीको सहज उपलब्धताको सुनिश्चितता गरिनेछ।
  • शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले प्रधानाध्यापक र विद्यालयका प्रधानाध्यापकले अन्य विषयगत शिक्षकसँग कार्य सम्पादन करार गर्ने र उपलब्धी सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाइनेछ। उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिनेछ।
  • विद्यालयको नेतृत्वलाई प्रभावकारी बनाउन निमित्त प्रधानाध्यापक होइन; सक्षम, अब्बल र अधिकार सम्पन्न प्रधानाध्यापक नियुक्त गरी कुशलतापूर्वक कार्यसम्पादन गर्ने व्यवस्था मिलाइनेछ।“जहाँ विद्यार्थी त्यहाँ शिक्षक” भन्ने अवधारणा अनुरुप शिक्षक दरबन्दीको मिलान गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
  • करार/राहत शिक्षक छनोट तथा पदपूर्ति व्यवस्थालाई सहज, सरल र व्यवस्थित बनाउन शिक्षक छनोट सम्बन्धी कार्यविधिलाई आवश्यक संशोधनसहित ‍प्रभाकारी रुपमा कार्यान्वयनमा ल्याइनेछ।
  • शिक्षक सरुवाको कारणबाट शैक्षिक गुणस्तरमा परेको/पर्ने प्रभावको समुचित विश्‍लेषण पश्चात मात्र सरुवा सहमति दिने अभ्यासलाई कार्यान्वयनमा ल्याइनेछ।
  • गाउँपालिकाको पूर्व अनुमति बेगर कुनै पनि किसिमको चन्दा, उपहार, सहयोग प्राप्त गर्ने विद्यालय प्रशासनलाई प्रचलित कानून बमोजिम छानविनको दायरामा ल्याइनेछ। मूल्य नखुलेको सहयोग लिन पूर्ण रुपले बन्देज गरिनेछ।
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउन प्रेरित गरिनेछ।
  • "लक्षित वर्ग आत्मनिर्भरता" कार्यक्रमलाई थप व्यवस्थित गरिदै लगिनेछ।
  • ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुका लागि सहायता सामग्री उपलब्धता गराइनेछ। ज्येष्ठ नागरिकको सामाजिक सम्मान अभिवृद्धिका लागि असल सन्तति सम्मान कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
  • परम्परागत पेशा व्यवसायको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा टेवा पुर्‍याइने कार्य गरिनेछ।
  • विभिन्‍न बाल क्लवमार्फत नैतिक व्यवहारिक र जीवन उपयोगी शिक्षा प्रबर्द्वनमा जोड दिइनेछ।
  • गर्भवती महिलाहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउन विपन्‍न महिला पोषण सुधार कार्यक्रमलाई थप व्यवस्थित तुल्याइनेछ।
  • बालबिवाह, लैङ्गिक हिंसा, लागू पदार्थ दुर्व्यसन जस्ता कुसंस्कारको अन्त्यका लागि नेपाल प्रहरी लगाएत अन्य सरोकारवाला गैर सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • समाजमा पछाडी परेको वर्ग, क्षेत्र, लिङ्ग, समुदाय लगायतलाई प्याकेजमा सहयोग उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा भत्ता वितरणमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिनेछ। सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित र सरल बनाउनको लागि EFT प्रणाली अवलम्बन गरिनुका साथै व्यक्तिगत घटना दर्ता र समाजिक सुरक्षा भत्तालाई सहज र सरल बनाउन लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • टोल विकास संस्थालाई आर्थिक/सामाजिक विकासको प्रस्थान विन्दुका रुपमा लिँदै साना पूर्वाधार निर्माण, सामाजिक जागरण, सरसफाई, विपद् व्यवस्थापन जस्ता कार्यमा परिचालन गरिनेछ।
  • गाउँपालिकालाई बालमैत्री, लैङ्गिकमैत्री, अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री बनाउन विशेष अभियान सञ्चालन गरिनेछ। बालमैत्री स्थानीय शासन घोषणा कार्यका लागि आवश्यक तयारी गरिनेछ। अभिभावक विहिन बालबालिकाहरुको संरक्षणको लागि छुट्टै बाल कोषको स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ।
  • लक्षित समूहको सशक्तीकरण र मूलप्रवाहीकरणका लागि मागमा आधारित कार्यक्रम/योजनामार्फत अपेक्षित उपलब्धी हासिल गरिनेछ। साथै गाउँपालिका भित्र रहेका विभिन्‍न समूहहरुको गठन, पुनर्गठन, क्षमता विकास सँग-सँगै आयआर्जनसँग जोडिनेछ।
  • कार्यालय भित्र रहेका विभिन्‍न शाखाहरुसँगको समन्वयमा उद्यम विकास र लघु उद्योगहरुको स्थापना र सञ्चालन मार्फत आय आर्जनमा जोड दिइनेछ।
  • राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टहरुले प्रदान गर्ने सेवामा गुणस्तरीयता कायम गर्न र यस क्षेत्रको साखलाई अझ माथि उठाउन सरोकारवाला पक्षहरुसँगको सहकार्य र समन्वयमा आवश्यक कार्यहरु सञ्चालन गरिनेछ।
  • रोजगार मेलाद्वारा कामको खोजीमा रहेका युवाहरुलाई यस गाउँपालिकाभित्र सञ्चालन भइरहेका वा सञ्चालन हुने कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्ने तथा स्थानीयस्तरमा नै आवश्यक सीप पहिचान गर्न सक्ने वातावरणको सृजना गरी बाध्यताबस वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई न्यूनीकरण गरिनेछ।
  • वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समाजमा पुनः एकीकरण गर्दै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको उचित उपयोगको व्यवस्था मिलाइनेछ।
  • वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याहरुको यथोचित समाधानका लागि मनोसामाजिक परामर्शको व्यवस्थालाई निरन्तरता प्रदान गर्दै विप्रेषणको सही उपयोगका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमलाई निरन्तरता प्रदान गरिने छ। वैदेशिक रोजगारीबाट फर्कनुभएका नागरिकहरुमा रहेको ज्ञान, सीप, क्षमता, दक्षता, अनुभव र पूँजीको समुचित परिचालनमा जोड दिइनेछ।
  • गाउँपालिकाबाट सञ्चालन गरिने विकास योजनालाई स्थानीय रोजगारी सिर्जनासँग अन्तर आवद्धित तुल्याइनेछ। गाउँपालिकाभित्र सञ्चालित योजनाहरुको गुणस्तर वृद्धि गर्नको लागि योजनामा परिचालित हुने सिकर्मी डकर्मी आदिको क्षमता अभिवृद्धिको लागि तालिमको व्यवस्था गरिनेछ।
  • स्थानीय माग एवं आवश्यकतामा आधारित सीपमूलक तालिमको व्यवस्थापन मिलाइनेछ। बैङ्क तथा वित्तीय संस्थाहरुको सहयोग र साझेदारीमा सहुलियत स्टार्ट अप व्यवसाय कर्जामा सहजीकरण गरिनेछ।
  • स्थानीय रोजगारीको अवसर सिर्जना गर्न "अध्यक्षसँग युवा तथा खेलकुँद र "उपाध्यक्षसँग महिला तथा सीप विकास" कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दिगो निर्माणको सुनिश्चितताका लागि आवश्यक निर्माण सामाग्री उपलब्ध गराइनेछ।
  • रोजगारदाता मार्फत श्रमिकको दुर्घटना बीमा गरिदिने गरी आवश्यक सहजीकरण गरिनेछ। रोजगारदाता र श्रमिक बीच सुमधुर सम्बन्ध स्थापित गराउन विशेष पहल गरिनेछ। गाउँपालिका भित्र रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि पहल गरिनेछ।

आर्थिक विकास नीति

  • “कृषकको उन्नती गाउँपालिकाको समुन्नती” अभियानलाई प्राथमिकता प्राप्त योजनाको रुपमा अगाडी बढाउन कृषि बाली र पशुपंक्षीमा देखा पर्ने संक्रामक रोग नियन्त्रणको लागि गाउँपालिकास्तरीय Quick Response Team (QRT) गठन तथा परिचालनलाई प्रभावकारी बनाइनेछ। कृषिजन्य बाली र पशुपंक्षीमा देखा पर्ने रोग नियन्त्रणको लागि तोकिए बमोजिमका औषधीहरु नि:शुल्क एवं गुणस्तरीय रुपमा कृषकहरुलाई प्रभावकारी रुपमा उपलब्ध गराइनेछ।
  • कृषकको सानो सानो उत्पादनलाई सिधै बजारसँग पहुँच स्थापना गर्नको लागि कृषि एम्बुलेन्सको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी र जनताको अपनत्व सृजना हुने गरी सञ्चालन गरिनेछ।
  • “उत्पादन साथमा अनुदान हातमा” भन्ने अवधारणालाई अभियानको रुपमा अगाडि बढाइनेछ। एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई अगाडि बढाउन आवश्यक व्यवस्था मिलाइनेछ। नव प्रवर्तनमा आधारित कृषि तथा पशु उत्पादनलाई अभिवृद्धि गर्न प्रोत्साहन तथा अनुदानको व्यवस्था मिलाइनेछ। कृषि प्रसारमा विशेष ध्यान दिइनेछ।
  • कृषि तथा पशुपालन व्यवसायलाई जोखिम रहित तुल्याउन बाली एवं पशु बीमा गर्ने किसानलाई प्रोत्साहनको व्यवस्था मिलाइनेछ। कृषि तथा पशुधनको बीमा कार्यमा गाउँपालिकाले लागत साझेदारी गर्नेछ।
  • कृषि बालीमा फैलिने सङ्क्रामक रोग नियन्त्रणका लागि मिनि ल्याब एवं औषधोपचार कार्यक्रम सञ्चालन गरिनेछ। रैथाने बालीहरुको बिउ संरक्षण, उपयोग तथा प्रचारको लागि सामुदायिक बिउ बैङ्कको स्थापनामा जोड दिइनेछ। कोसेली घरको सञ्चालनमार्फत रैथाने बालीको विकास र विस्तारलाई जोड दिइनेछ।
  • पशुपालक किसानका लागि तोकिएका पशुजन्य औषधीहरु निःशुल्क रुपमा उपलब्ध गराई औषधीहरुको नियमित आपूर्तिको सुनिश्चितता गराइनेछ। पशुपंक्षीमा देखिने रोगहरुको जोखिम न्यूनीकरण गर्नको लागि पशु स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
  • बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, नश्ल सुधार कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिनेछ। मागमा आधारित साना कृषक लक्षित पशुपंक्षी प्रबर्द्धन कार्य अगाडी बढाइनेछ। लागत साझेदारीमा बिक्री केन्द्रहरुको स्थापनामा जोड दिइनेछ। पशुपालक किसानहरुको क्षमता विकास र सशक्तीकरण गरिनेछ।
  • सिञ्‍चाइको अभाव कम गर्न प्लाष्टिक पोखरी र थोपा सिञ्‍चाइ कार्यक्रमको सुरुवात गरिनेछ। सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ। रैथाने बालीबाट तयार गरिने खानेकुराका परिकारहरुको प्रयोग गर्नमा प्रोत्साहन गरिनेछ।
  • सहकारी संस्थाहरुको अनुगमन, नियमन, पारदर्शिताको व्यवस्थापनको लागि सहकारी शिक्षा प्रदान गरिनेछ। गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको समग्र पक्षको अध्ययन सहित प्राप्त प्रतिवेदनको आधारमा थप आवश्यक व्यवस्था गर्न गाउँपालिकास्तरीय सहकारी अनुगमन समितिलाई तोकिएको समयमा नै कार्यसम्पादन गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली COPOMIS लाई अनिवार्य गरिनेछ।
  • बाँझो एवं सरकारी जग्गामा सम्भाव्यताका आधारमा सामूहिक खेती एवं नवप्रवर्तनीय व्यवसाय गर्ने कृषक समूहलाई विशेष सहयोग प्याकेज उपलब्ध गराइनेछ। प्राकृतिक रुपमा उत्पादन हुने फलफूल, तरकारी र कन्दमुलहरुको व्यावसायीकरण तथा बजारीकरणमा जोड दिइनेछ।
  • स्थानीय उत्पादनमा आधारित साना तथा घरेलु उत्पादन/प्रशोधन उद्योग सञ्चालन गर्ने उद्यमीहरुलाई विशेष प्रोत्साहनको व्यवस्था मिलाइनेछ।यस कार्यका लागि गाउँपालिकाको लागत साझेदारी समेतको व्यवस्था मिलाइनेछ।
  • उपरदाङ गढी, सिराईचुली र इच्छाकामना मन्दिर लगाएतका पर्यटकीय क्षेत्रहरुको उचित एवं व्यवस्थित विकास र विस्तारको लागि “इच्छाकामना त्रिभुज परियोजना” सञ्चालन गरिनेछ। जस अन्तर्गत उपरदाङ गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्विक महत्व झल्किने गरी गढी दरबारको निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयको रुपमा विकास गरिनेछ। सिराईचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्गको विकास र विस्तारलाई जोड दिइनेछ। इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाहरुको विकास र विस्तारमा जोड दिइनेछ। मन्दिर क्षेत्रको विकास, विस्तार र प्रचारको लागि गुरुयोजना तयार गरी सोही बमोजिमका संरचना एवं पूर्वाधार निर्माणमा जोड दिइनेछ।
  • लामो झरना, बालगौरी पाथीभरा मन्दिर, मुग्लीन महादेवस्थान, हात्तीबाङ्ग, कुरिनघाट शिवालय जस्ता धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय स्थलहरुको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • पर्यटनसँग जोडिएका होटल व्यवसाय, यातायात व्यवसाय, होमस्टे, कला संस्कृति प्रबर्द्धन एवं स्थानीय रैथाने बालीको संरक्षणका लागि एकीकृत कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
  • पर्यटकीय स्थलहरुमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरणमा योगदान पुर्‍याइनेछ। उत्पादनका हिसाबले विशिष्ट पहिचान बनाउन एक वडा एक उत्पादनको कार्यक्रमलाई कार्यान्वयन गरिनेछ ।
  • "एक परिवार एक व्यवसाय" को अवधारणालाई कार्यान्वयनमा ल्याउन आवश्यक सीपमूलक एवं आय आर्जन तालिमको व्यवस्था मिलाइनेछ। कार्यक्रम कार्यान्वयन गर्दा एक गाउँ एक उत्पादनको अवधारणालाई आत्मसात् गरिनेछ।
  • स्थानीय भाषा, कला, संस्कृति, साहित्य र परम्पराको संरक्षण गर्दै आर्थिक विकासको आधारका रुपमा विकसित गरिनेछ।
  • फिस्लिङ तरकारी सङ्कलन केन्द्रलाई कृषक हित अनुकूल हुने गरी सञ्चालनमा ल्याइनेछ। उप-सङ्कलन केन्द्र विस्तारमा जोड दिइनेछ।
  • सार्वजनिक जग्गा संरक्षणमा विशेष जोड दिइनेछ।
  • सार्वजनिक निजी साझेदारी लगायत अन्य सङ्घ/संस्थाहरुका लगानीका क्षेत्रहरु पहिचान गरी "विकासमा सहकार्य र साझेदारी" को अवधारणालाई कार्यान्यवनमा ल्याइनेछ र लगानीयोग्य वातावरणको सृजना गरिनेछ।
  • होटल तथा रेष्टुरेन्ट व्यवसायको स्तरीकरण गर्ने कार्यको शुरुवात गरिने छ।स्तरीकरण गरिएका होटल व्यवसायको सूची गाउँपालिकाको वेभसाइट तथा डिजिटल माध्यमबाट प्रचार-प्रसारको व्यवस्था गरिनेछ।
  • साँस्कृतिक परम्परा,चाडपर्व र भोज भतेरमा गरिने फजुल खर्च नियन्त्रण गरी उत्पादनशील क्षेत्रमा लगाउन विशेष पहल गरिनेछ। यस्ता कार्यहरुमा रैथाने बालीबाट तयार गरिएका खाना,सर्वत,मोही जस्ता पेय पदार्थको प्रयोगमा प्रोत्साहन गरिनेछ।रैथाने खाना र पेय पदार्थको प्रवर्द्वनमा सहयोग गर्न खाना मोहत्सवको आयोजना गरिनेछ ।

पूर्वाधार विकास  नीति

  • अधुरा पूर्वाधार निर्माणको सम्पन्नतामा विशेष जोड दिँदै निर्माण सम्पन्न भएका संरचनाबाट गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिनेछ।
  • साझेदारीमा पूर्वाधार निर्माण गर्ने एवं स्थानीय लागत सहभागिता बढी जुट्ने योजना कार्यान्वयनमा विशेष प्राथमिकता दिइनेछ। गाउँपालिकाको आवधिक योजनालाई अद्यावधिक गरी दीर्घकालिन आवधिक र वार्षिक रुपमा प्राथमिकता प्राप्त योजनाहरु कार्यान्वयन गरिनेछ।
  • पूर्वाधारहरुको गुणस्तर सुनिश्चितताका लागि आवश्यक पर्ने मेसिनरी औजार र जनशक्ति सहित प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइनेछ।
  • पूर्वाधार निर्माण गर्दा स्थानीय स्रोत, साधन र सीपको प्रयोगलाई प्रोत्साहन गरिनेछ। उपभोक्ता समितिको दर्तालाई अनिवार्य गरी निर्मित पूर्वाधारको संरक्षण र मर्मत सम्भारका लागि जिम्मेवार तुल्याइनेछ। उक्त कार्यको लागि मर्मत सम्भार कोष परिचालन गरिनेछ।
  • गाउँपालिका भित्रका प्रमुख सडकहरुको नियमित सञ्चालनका लागि Lane Worker को व्यवस्था मिलाइनेछ। बजार क्षेत्र भएर जाने पृथ्वी राजमार्गको दायाँ बायाँ मुग्लिङ्ग कुरिनटार लगायत क्षेत्रको सडक र गाउँपालिका कार्यालय परिसरमा सौन्दर्यीकरणको कार्य प्रारम्भ गरिनेछ। गरिनेछ।गाउँपालिकाको पहिचानको लागी राजमार्गको रिग्दि खोला र मौवा खोला क्षेत्रमा स्वागतद्वार निर्माण गरिनेछ ।
  • खानेपानी, सिञ्‍चाइ जस्ता जीवनयापनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार निर्माणमा जोड दिइनेछ।
  • “मुहान देखि मुख सम्म स्वच्छ खानेपानी” भन्ने नाराका साथ सुरक्षित खानेपानीको विस्तारका लागि गाउँपालिका र अन्य सरकारी तथा गैरसरकारी सङ्घ/संस्थासँगको साझेदारीमा विशेष जोड दिइनेछ। एक घर एक धारा नीतिको कार्यान्वयनमा तीव्रता ल्याइनेछ।४
  • वडा कार्यालय जोड्ने सडकलाई प्राथमिकताका साथ बाह्रै महिना सञ्चालनमा ल्याइनेछ। सडक पूर्वाधार निर्माण गर्दा Bio-Engineering लाई कार्यान्‍वयनमा लैजान जोड दिइनेछ। एक वडा एक गौरवको योजना कार्यान्वयनमा ल्याइनेछ ।
  • वडाका सामरिक महत्वका सडकहरुलाई स्तरोन्नती गर्न विशेष प्राथमिकता दिइनेछ। २ नं. वडाको वडा सम्पर्क कार्यालयलाई व्यवस्थित गरी सेवा प्रवाहमा सहजता कायम गरिनेछ।
  • पूर्वाधार निर्माण र सञ्चालनमा सङ्घीय सरकार, प्रदेश सरकार, विकास साझेदार गैर सरकारी सङ्घ संस्थाहरुसँग समन्वय, सहकार्य र साझेदारी गरी कार्यान्वयन गरिनेछ।
  • उपभोक्ता समितिलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइने छ। निर्माण व्यवसायीबाट सम्पादन हुने कार्यलाई तोकिएको समयमा काम सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण प्रबन्ध मिलाइनेछ। म्याद थप गर्ने कार्यलाई निरुत्साहित गरिनेछ।
  • "मेरो पूर्वाधार, मेरो पौरख, मेरो गौरव" को अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ।
  • भवन नक्सा पासलाई अनिवार्य गरिनेछ। पुराना घरहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा अभिलेखीकरण कार्यविधि अनुरुप अभिलेखीकरणको कार्य अगाडि बढाइनेछ। तोकिएको समयावधि भित्र अभिलेखीकरण गर्न प्रोत्साहित गरिनेछ।
  • घर नक्सा तयार गर्ने परामर्श दाताहरुको अधिकतम सेवा शुल्क निर्धारण गरी सूचीकृत गरिनेछ। कुरिनटार Town Planning DPR तयार गरी योजना कार्यान्वयनमा विशेष जोड दिइनेछ।
  • “मेरो गाउँ उज्यालो ठाउँ” को अबधारणा अनुरुप ग्रामीण र दुर्गम क्षेत्रमा भरपर्दो विद्युत सेवा उपलब्ध गराइनेछ। मुख्य बजार क्षेत्रमा सडक बत्ती, मास लाइटको व्यवस्था गरिनेछ।
  • भूमिको उत्पादन सम्भाव्यताका आधारमा सिञ्‍चाइ सुविधाका लागि पूर्वाधार विस्तारमा जोड दिइनेछ।

वन, वातावरण तथा विपद् व्यवस्थापन नीति

  • फोहरमैला व्यवस्थापनलाई आयमूलक र नतिजामूलक बनाइनेछ। फोहरमैला व्यवस्थापनमा निजी क्षेत्र र स्थानीय सङ्घ/संस्थासँगको साझेदारीमा जोड दिइनेछ। कुरिनटारमा फोहरबाट मोहर सृजना गर्ने अवधारणा अनुरुप शुरुवात गरिएको फोहरमैला व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाइनेछ। साथै अस्पतालजन्य फोहर व्यवस्थापनमा विशेष ध्यान दिइनेछ।
  • गाउँ-गाउँमा पुन:भरण पोखरी निर्माण सँगै पानीका स्रोतहरुको संरक्षणको लागि कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ।
  • वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिइनेछ। पूर्वाधार निर्माण गर्दा कम्तीमा ५% रकम वातावरण संरक्षणमा खर्च गर्नु पर्ने प्रावधानलाई कार्यान्वयनमा ल्याइनेछ।
  • परम्परागत पानीका स्रोतहरुको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। वन जङ्गलको संरक्षणको लागि विभिन्‍न गैर सरकारी संस्थाहरुसँगको समन्वयमा सचेतनामूलकसहित अन्य आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • जैविक विविधताको संरक्षणमा विशेष ध्यान दिइनेछ।
  • घरको सरसफाई एवं सौन्दर्यता अभिवृद्धि गर्ने सबै घर परिवारको अनिवार्य दायित्व हुनेछ। उत्कृष्ट सरसफाई र सौन्दर्यता अभिवृद्धिमा योगदान पुर्‍याउने परिवारलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ। गाउँपालिकाको सुन्दरता र वातावरणीय स्वच्छताको लागि फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। फोहरलाई स्रोतमै वर्गीकरण गर्ने र प्राङ्गारिक मल बनाउने जस्ता नवीनतम् प्रविधिलाई आत्मसात् गरिनेछ।
  • प्राकृतिक र मानवीय क्रियाकलापबाट सृजना हुने विभिन्‍न विपद्हरुको सामना गर्न सक्ने गरी स्रोत र साधनको व्यवस्था गरिनेछ। विपद्जन्य घटना र क्षतिको न्यूनीकरण गर्न विपद्‍मा परेकाहरुको उद्दार, राहत र पुन:र्स्थापनाको लागि स्थानीय विपद् व्यवस्थापन समिति लगायत अन्य सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा कार्य सञ्चालन गरिनेछ। विपद् व्यवस्थापनको लागि रहेको प्रकोप व्यवस्थापन कोषलाई थप प्रभावकारी रुपमा परिचालन गरिनेछ साथै उद्दार र राहत कार्यमा स्वयंसेवकहरुलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ।
  • स्थानीय स्तरका विपद् जोखिम समितिहरु मार्फत् विपद् जोखिम न्यूनीकरणका लागि आपतकालिन उद्दार र पुन:र्स्थापनाको लागि तालिम सञ्चालनसहित आवश्यक सामग्रीहरुको व्यवस्था गरिनेछ।

सुशासन तथा संस्थागत क्षमता विकास नीति

  • गाउँपालिकाले स्वीकृत गरी लागू गर्ने विभिन्‍न विषयगत कानूनहरु निर्माण र समयसापेक्ष परिमार्जनसहित कार्यान्वयनलाई जोड दिइनेछ।
  • गाउँकार्यपालिकाको कार्यालय र मातहतका कार्यालयहरुबाट हुने सार्वजनिक सेवा प्रवाहमा तटस्थता, प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र सक्षमता अभिवृद्धि गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई परिष्कृत गर्दै विद्युतीय शासनको अवधारणालाई कार्यान्वयनमा जोड दिइनेछ। सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न नागरिक सहायता कक्षको स्थापना गर्ने र गुनासो सुनुवाईको उचित प्रबन्ध मिलाइनेछ।
  • “पालिकाले देख्छ; गलत कार्यलाई छेक्छ” योजना भित्र मातहतका कार्यालयहरुमा विद्युतीय हाजिरी प्रणालीको जडान र विस्तार गरी गाउँकार्यपालिकाको कार्यालयबाट अनुगमन र नियमन गर्ने प्रणालीको विकास गरिनेछ। सेवा सुविधा भुक्तानीका लागि विद्युतीय हाजिरीलाई प्रमुख आधारको रुपमा स्थापित गरिनेछ। कार्यसम्पादनमा सहजता ल्याउनको लागि सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिइनेछ। गाउँपालिका भित्र रहेका महत्वपूर्ण स्थानहरुमा सिसिटिभीको जडान गरी निगरानी बढाइनेछ।
  • जनप्रतिनिधिहरुलाई पालिका भित्र रहेको श्रम शक्ति परिचालनकर्ताको रुपमा क्षमता विकास गरिँदै लगिनेछ। जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास योजना तयार गरी क्रमशः लागू गरिदैँ लगिनेछ। जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्वदेशी तथा विदेशी क्षेत्रगत सेवाकालिन पुनर्ताजगी तालिम, अध्ययन अवलोकन भ्रमण तथा मनोसामाजिक परामर्श र कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थागत कार्यसम्पादन स्तरमा सुधार ल्याइनेछ।
  • कार्यसम्पादन करार गर्ने पद्वतिलाई जनप्रतिनिधि एवं कर्मचारी दुबै पक्षमा अनिवार्य गरी थप व्यवस्थित गरिनेछ। गाउँ सभा र गाउँ कार्यपालिका अन्तर्गत रहने विभिन्‍न विषयगत समितिहरुको कार्यसम्पादनमा प्रभावकारीताको लागि आवश्यक कानूनहरुको निर्माण गर्ने र समितिका सदस्यहरुको क्षमता विकासका लागि क्षमता विकासका कार्यहरु सञ्चालन गरिनेछ। विषयगत समितिका बैठकहरुलाई थप व्यवस्थित र नियमित गरिनेछ।
  • सार्वजनिक सेवा प्रवाह मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ। स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च बनाउँदै स्थानीय जनताको सेवामा समर्पित भई कार्यसम्पादन गर्न र समग्र सेवा प्रवाहमा सुशासन कायम गर्नको लागि कर्मचारीहरुको समय सापेक्ष क्षमता विकास कार्यक्रम र कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको शुरुवात गरी सक्षम र उच्च मनोबलयुक्त कर्मचारी प्रशासनको विकास गरिनेछ।
  • जनप्रतिनिधि, शिक्षक, उपभोक्ता समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, उत्कृष्ट कृषक, समाजसेवी लगायत कर्मचारीलाई कार्यसम्पादनको आधारमा पुरस्कृत गरिनेछ। तोकिएको समयमा गुणस्तरसहित काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानून बमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ। समय अगावै गुणस्तरीय कार्यसम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ।
  • सबै प्रकारका कर तथा गैरकरको सङ्कलनलाई अनिवार्य गरिनेछ। कर तथा गैरकर भुक्तानी नगर्ने घर परिवारलाई गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा रोक्का गर्ने नीति अवलम्बन गरिनेछ।
  • स्थानीय पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि खोज पत्रकारिता तालिम सञ्चालन गरिनेछ। गाउँपालिका र सञ्चारकर्मी बीचको सम्बन्धलाई बलियो बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि गाउँपालिकाले आयोजना गर्ने नियमित सार्वजानिक सुनुवाई, नियमित रेडियो कार्यक्रम र गुनासो सुनुवाई कार्यक्रमहरु सञ्चारकर्मीहरुसँगको सहकार्य र सहयोगमा अगाडि बढाइनेछ।
  • सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनका आधारमा गाउँपालिकाको सङ्गठन संरचना एवं कर्मचारी दरबन्दी पुनरवलोकन गरिनेछ। अपाङ्गमैत्री भौतिक संरचनाको निर्माण, बालमैत्री स्थानीय शासनको अवधारणालाई कार्यान्वयन गरिनेछ। करार र दैनिक ज्यालादारीमा कर्मचारी भर्नालाई न्यूनीकरण गरिनेछ।
  • दैनिक प्रशासनिक तथा आर्थिक क्रियाकलापहरुलाई सेवाग्राहीमैत्री पारदर्शी छिटो छरितो र मितव्ययी बनाउन वडा तह बाट नै योजना सम्झौता र रकम भुक्तानीको लागि फाइल सङ्कलन पश्चात वडा सचिव मार्फत गाउँकार्यपालिका कार्यालयको समन्वयमा भुक्तानी हुने कार्यलाई थप व्यवस्थित र विस्तार गरिनेछ। पालिकास्तरमा हुने सेवा प्रवाहलाई सेवाग्राहीको घरदैलोमा पुर्‍याउनको लागि एकीकृत घुम्ती सेवा मार्फत सेवा प्रवाह गर्ने व्यवस्थाको थालनी गरिनेछ।
  • करको दर घटाउँदै र करको दायरा विस्तार गरिदै लगिनेछ।आ.व. २०८१/०८२ देखि वहाल विटौरी कर, सम्पत्ती कर, विज्ञापन कर, कवाडी कर जस्ता स्थानीय आय वृद्विमा योगदान पुर्‍याउने कर लागू गरिनेछ। करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। उत्कृष्ट करदातालाई सम्मान गर्ने नीति अवलम्बन गरिनेछ।
  • न्यायिक समितिको सुदृढीकरणमा विषेश जोड दिँदै “न्याय चौतारीको” अवधारणा अनुरुप स्थानीय स्तरमा हुने न्याय सम्पादनलाई सक्षम बनाउने रणनीति अवलम्बन गरिनेछ।
  • बजार र आयोजना अनुगनमलाई नियमित र चुस्त बनाइनेछ। अनुगमनका क्रममा पाइएका कमी कमजोरीहरुलाई घटाउने र हटाउने नीति अवलम्बन गरिनेछ।
  • गाउँपालिका क्षेत्रभित्रको राजमार्ग क्षेत्र, धार्मिक र पर्यटकीय स्थल, ऐतिहासिक स्थल लगायतका क्षेत्रहरुमा नगर प्रहरी सहित कर्मचारीको नियमित गस्तिको व्यवस्था मिलाई उक्त क्षेत्रको सरसफाईमा सुधार गर्न र गैर कानूनी गतिविधि हटाउन जोड दिइनेछ।

अन्त्यमा, यस गाउँपालिकाको चालु आर्थिक वर्षका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि पशु लगायतका क्षेत्रमा लगनशील भई काम गर्ने कर्मचारी एवं सम्पूर्ण जनसमुदायहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउन विभिन्‍न माध्यमबाट रचनात्मक सुझाव एवं सहयोग गर्नुहुने राजनीतिक दलका प्रतिनिधिज्यूहरु, स्थानीय समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, कर्मचारी लगायत इच्छाकामना गाउँपालिकाका सम्पूर्ण जनसमुदाय प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु।यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा यहाँहरु सबैको सक्रिय सहयोगको अपेक्षा गर्दछु।

धन्यवाद।

दान बहादुर गुरुङ्ग
अध्यक्ष
इच्छाकामना गाउँपालिका

                                            

images
प्रकाशित मिति :आषाढ ८, २०८१ शुक्रवार - १०:०२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology