Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सिराइचुली आउने पर्यटक बढेसँगै इच्छाकामनाको हात्तिवाङ घरबास व्यवसाय फस्टाउदै

सिराइचुली आउने पर्यटक बढेसँगै इच्छाकामनाको हात्तिवाङ घरबास व्यवसाय फस्टाउदै

images

रासस

२६, जेठ २०८१
सिराइचुली आउने पर्यटक बढेसँगै इच्छाकामनाको हात्तिवाङ घरबास व्यवसाय फस्टाउदै
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।   

सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिकजसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास (होमस्टे) हात्तीवाङका सञ्चालक जगदीश्वर पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाहुना दैनिकजसो बास बस्न आउनुहुन्छ, पछिल्लो समय यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ ।”

समुद्र सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय अवलोकन गर्न पर्यटक आउने गरेका छन् । हात्तीवाङमा बास बसेर  बिहान सूर्योदय हेर्न पर्यटक सिराइचुली पुग्ने गर्छन् । हात्तीवाङबाट पनि केही समयको सडक यात्रापछि आधा घण्टाको पैदल यात्रापछि सिराइचुली पुग्न सकिन्छ । 

घरबास सञ्चालकसमेत रहनुभएका  इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर राना मगरले पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक आउने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन, तर सिराइचुली आउने पाहसनाको सङ्ख्या बढ्दै गएको छ ।” सिराइचुली आउने पर्यटक बढेसँगै हात्तीवाङका घरबास व्यवसाय फस्टाउँदै गएको वडाध्यक्ष राना मगरको भनाइ छ । सिराइचुलीसम्म पुग्न सिँढीसहितको बाटो निर्माण गरिएको छ । 

सिराइचुलीको फेदसम्मै सडक पुगेको छ । पैदल दूरी छोटिँदा पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । हात्तीवाङमा हाल चार घरबास र एउटा होटल सञ्चालनमा छ । तर यहाँ आउने पाहुनाका लागि बास बस्न पर्याप्त नभएको घरबास सञ्चालक जगदीश्वर पुरी बताउनुहुन्छ ।  

घरबासमा पाहुनाको रोजाइअनुसार स्थानीय परिकारसमेत खुवाउने गरिएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आगमन बढेसँगै घरबास सञ्चालन गर्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न थालेको बताउनुभयो । अनुदानसहित स्थानीयलाई तामिलसमेत प्रदान गरिँदै आएको उहाँको भनाइ छ । 

गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको वडा नम्बर २ मायाटार  आसपासमा रहेका घुर्केश, डाँडा गाउँलगायतका गाउँमा  पनि घरबास सञ्चालनको तयारी गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - ०९:४५:५८ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology