घैरुङ । गोरखाको शहिद लखन गाउँपालिकाको बेरुजु पछिल्लो आर्थिक वर्षमा पनि घटेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार पछिल्लो आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षणमा पनि गाउँपालिकाको बेरुजु रकम घटेको पाईएको हो ।
महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० मा १ अर्ब ६९ करोड ११ लाख ८३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.४ प्रतिशत अर्थात ६७ लाख ८१ हजार रुपैयाँ बेरुजु देखाएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा ७३ लाख ८६ हजार थियो । जसअनुसार अघिल्लो आवमा भन्दा पछिल्लो आवमा ६ लाख ५ हजार रुपैयाँ कम बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाको ११ पालिका मध्य कम बेरुजु हुनेमा प्रथम स्थान र गण्डकी प्रदेश भरको पालिका मध्यमा तेस्रो स्थानमा रहेको शहिद लखन पछिल्लो आर्थिक वर्षमा भने जिल्लामा दोस्रो स्थानमा परेको छ ।
कुनै बेला शहिद लखन सबैभन्दा कम बेरुजु हुने स्थानीय तह मध्य देशभरकै चौथो र जिल्ला तथा प्रदेशमै पहिलो पालिका बनेको थियो ।
यद्यपी शुन्य बेरुजु अभियान अन्तर्गत गाउँपालिकाले काम गरिरहेको शहिद खलन गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिए । उनले भने ‘हामी शुन्य बेरुजु अभियानमै छौं, यसपटक पनि कृषि बिमाको रकममा सबै कागजपत्र पेश गर्दा पनि बेरुजु देखिन पुगेकोले अलि बढि बेरुजु देखिएको हो’ ।