Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्यटकीयस्थल आँबुखैरेनीको ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण

पर्यटकीयस्थल आँबुखैरेनीको ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण

रासस

२७, बैशाख २०८१
पर्यटकीयस्थल आँबुखैरेनीको ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण
images

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।

images
images

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन फूल रोपिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटी र लियो क्लब अफ आँबुखैरेनीले आज ऐनापहरामा निर्माणाधीन उद्यानमा विभिन्न प्रजातिका फूल रोपेको हो ।

लियो क्लब अफ आँबुखैरेनी सिटीका उपाध्यक्ष नीरज श्रेष्ठले गाउँपालिकाले यस ठाउँलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेको र उक्त अभियानमा आफूहरूले साथ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐनपहरामा गाउँपालिकाको लगानीमा उद्यान बन्दैछ । उद्यान क्षेत्रलाई हरियाली र सुन्दर बनाउन फूल रोपिएको हो ।”

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

चुमानले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।”

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताउनुभयो । उहाँका अनुसार यहाँ उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । चुमानले भन्नुभयो, “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।”

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जोकसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरू आनन्दित भएर फर्किन्छन् ।

पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १६:३४:३२ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology