Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री भगवती चौधरी

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री भगवती चौधरी

images

इच्छाकामना न्युज

१०, बैशाख २०८१
सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री भगवती चौधरी
images

काठमाडौँ,। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । 

पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुंगो लाग्नेछ भन्ने विश्वास व्यक्ति गर्दछु’, उहाँले भन्नुभयो, ‘मलाई लाग्छ यो विषय सिंगो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’

समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताउनुभयो ।

‘सत्यनारायण जिले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई संगठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासंघले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ 

आफूले पनि ६ महिना रेडियो नेपालमा पत्रकारिता गर्ने अनुभव बटुलेको स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा देखिएको समस्याको समाधानका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । पेशा व्यवसायसँगै आफ्ना अन्य जिम्मेवारी व्यवस्थापन गर्नुपर्दा केही अप्ठ्यारा हुँदाहुँदै पनि पत्रकारिता क्षेत्र अन्य पेशा भन्दा फरक क्षेत्र रहेकाले यस क्षेत्रमा काम गर्न सकेमा समाजमा स्थापित हुन सकिने उहाँको भनाई थियो ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो । 

फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिनुभएको थियो । 

त्यस अवसरमा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताउनुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - ०७:४९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology