Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्रचण्डकै पालामा पक्राउ परे पूर्वकमान्डर खाम, यसरी भएको थियो चितवनमा रामहरि श्रेष्ठको हत्या

प्रचण्डकै पालामा पक्राउ परे पूर्वकमान्डर खाम, यसरी भएको थियो चितवनमा रामहरि श्रेष्ठको हत्या

images

इच्छाकामना न्युज

२१, चैत्र २०८०
प्रचण्डकै पालामा पक्राउ परे पूर्वकमान्डर खाम, यसरी भएको थियो चितवनमा रामहरि श्रेष्ठको हत्या
images

चितवन । कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परे । त्यसले थोरै भए पनि शान्ति त मिल्यो, तर न्याय पाउनेमा भने पीडित परिवारले अझै आशंका गरेको छ । ‘अपराधी पक्राउ परेको सुन्दा थोरै भए पनि घाउमा मल्हम लागेको छ’, रामहरिपत्नी रमिला मानन्धरले भनिन्,‘ तर पावरमा उनीहरू नै छन् । रातारात छुटाउन सक्छन् । मिडियाबाट खबरदारी गरिदिनुहोला ।’

२८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम कुटपिटबाट श्रेष्ठको हत्या भएको थियो । संयोग कस्तो भने श्रेष्ठको हत्या हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानसभा निर्वाचन जितेर सत्तारोहणको तयारीमा थिए । शान्ति प्रक्रियामा आएको माओवादीले नियन्त्रणमा लिएर लडाकुको अस्थायी शिविर शक्तिखोरमा लगेर हत्या गरेकोभन्दै आन्दोलन चर्किएको थियो ।

प्रचण्डले खामलगायत घटनामा संलग्न माओवादी कमान्डरहरूलाई कारबाहीमा सघाउने भन्दै आन्दोलनकारी र श्रेष्ठपत्नी रमिलासँग सातबुँदे सहमति गर्नुपरेको थियो । तर, बितेका १५ वर्ष प्रचण्ड र माओवादी नेतृत्वले खामलाई राजनीतिक संरक्षण गरेर जोगाएको थियो । प्रहरीले फरार अभियुक्तको सूचीमा राखे पनि उनी काठमाडौंमै थिए । बारम्बार सिंहदरबार जाने, माओवादी नेताहरू भेट्ने र पूर्वकमान्डरहरूको भेलामा सहभागी भइरहन्थे ।

नेकपा विभाजनपछि उनीसहित थुप्रै माओवादी कमान्डरहरू तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीनजिक पुगेका थिए । एउटा सार्वजनिक कार्यक्रममै ओलीले भनेका थिए, ‘कहाँ छन् कालीबहादुर खाम ? हिजो तिनै कमान्डरहरूलाई प्रयोग गरे । अहिले प्रचण्डलाई वास्ता छैन ।’

माओवादी विद्रोहका सुप्रिमो प्रचण्ड प्रधानमन्त्री रहेकैबेला पूर्वकमान्डर खाम पक्राउ परेका हुन् । रामहरिपत्नी रमिलालाई गृह मन्त्रालयमा अर्कै पार्टीका नेता भएकाले मात्र अभियुक्त पक्राउ परेको लागेको छ । ‘माओवादीको मात्र सरकार हुन्थ्यो भने अहिले पनि पक्राउ गर्दैनथ्यो । गृहमन्त्रीमा अर्कै पार्टीको नेता भएकाले यतिसम्म भए पनि भयो,’ उनले भनिन्, ‘मैले मेरो मान्छेलाई त्यतिबेला जीवितै फर्काउन पाइनँ । अपराधीहरूले मारे । कम्तीमा १५ वर्षपछि दुखेको घाउमा मल्हम लागेको छ ।’

कसरी भएको थियो हत्या ?

कालीबहादुर खाम माओवादी लडाकुको तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमान्डर थिए । २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि खामको टोलीले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा डेरा लिएको थियो । घरबेटीलाई परिचय खुलाइएको थिएन । खामले प्रचण्ड, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’लाई खाना खुवाउन बोलाएपछि मात्र रेस्टुरेन्ट व्यवसायी श्रेष्ठले उनी माओवादी कमान्डर भएको थाहा पाएका थिए ।

खामले आफ्नो डेरालाई जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएका थिए । चितवनबाट काठमाडौं आएका बेला खामलगायत कमान्डरहरू त्यहीँ बस्थे । १४ चैत २०६४ को राति सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भएको भन्दै माओवादीले हल्लीखल्ली मच्चाए । लगत्तै, पैसा र हतियार भेटियो भनियो । तर, चोरीको छानबिनको नाममा घरबेटी श्रेष्ठलाई अनेक सास्ती दिन थाले । १५ वैशाख राति २ बजे उनलाई अपहरण गरेर शक्तिखोरस्थित अस्थायी शिविर लगियो ।

सोधपुछका क्रममा निर्मम यातना दिएकै कारण उनको त्यहीँ मृत्यु भयो । टाउको, छाती र खुट्टामा गम्भीर चोट लागी बेहोस भएपछि लडाकु शिविरकै गाडीमा राखेर उपचारका निम्ति काठमाडौं लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको अर्का कमान्डर गोविन्द बटालाले अदालतमा बयान दिएका थिए । हत्याको मतियारका रूपमा तीन वर्ष जेल सजाय भुक्तान गरेर उनी रिहा भइसकेका छन् ।

बाटोमै मृत्यु भएका श्रेष्ठको शवलाई बटालासहितका लडाकुले तन्नामा बेरेर त्यसमा ढुंगा हालेर झोलुंगे पुलबाट नारायणी नदीमा फालिदिएका थिए । सो घटना खामकै योजनामा भएको र त्यसमा उनका अंगरक्षक एटम भनिने गंगाराम थापा र रघु भनिने केशव अधिकारी संलग्न रहेको खुलेको थियो ।

पूर्वकमान्डर खामको अपराधलाई माओवादीले १५ वर्षदेखि राजनीतिक संरक्षण दिँदै आएको थियो । २०६५ मा माओवादी पहिलोपल्ट सरकारमा जाँदा तत्कालीन रक्षामन्त्री बादलले केही महिना खामलाई आफैँसँग राखेका थिए । एउटा सार्वजनिक कार्यक्रममा उनी देखिएपछि सडकदेखि सदनसम्म विरोध भयो । त्यसपछि उनी नेताहरूसँग गोप्य रूपमा मात्र भेट्न थाले । ९ असोज २०६६ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त प्रमुख रिचर्ड बेनेटले समेत खामलाई अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गराउन माओवादी अध्यक्ष प्रचण्डलाई पत्र नै लेखेका थिए । तर, प्रचण्डले मानेनन् ।

२०६७ चैतमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले खामको सुरक्षामा असईको नेतृत्वमा सशस्त्र प्रहरीका तीन जना खटाएका थिए । ‘त्यसरी संरक्षण गर्दै कारबाहीबाट जोगाएका अभियुक्तलाई अहिले पक्राउ गर्नुका पछाडि पनि केही षड्यन्त्र हुन सक्छ । अभियुक्तलाई कारबाही गराएर हामीलाई न्यायको अनुभूति गराउन न्यायप्रेमी सबैको साथ सहयोगको अपेक्षा राखेका छौँ,’ रमिलाले भनिन् ।

images
प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - ०८:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology