काठमाण्डौ । सुन तस्करी प्रकरण जाँचबुझ आयोगले नेपाल प्रहरीका दुई पूर्वप्रमुखलाई निगरानीमा राख्न सिफारिस गरेको छ । चर्चित ६१ किलो सुन तस्करी र अन्य प्रकरणमा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्य संयोजकत्वको आयोगले पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालको सुन तस्करहरूसँग निरन्तर सम्पर्क देखिएकाले निगरानीमा राख्न सुझाव दिएको हो ।
बहालवाला प्रहरी अधिकारीका हकमा कारबाही सुरु भइसकेको छ । तर सर्वेन्द्र खनाल भागेर अमेरिका पुगिसकेको भन्ने समाचारहरु आएका छन् । देशको प्रहरी प्रमुख भएर अवैध सुनको ओसारपसारको सहजीकरण र भरियासमेत बन्न तयार हुनु भनेको राज्यद्रोह हो । राज्यविरुद्धको अपराध हो । त्यसकारण उनलाई कानुनी कठघरामा उभ्याउनैपर्छ ।
बर्दीको दुरुपयोग गरी शपथलाई कुल्चेर सारा प्रहरी संगठनलाई तस्करीको सहजीकरणमा लगाउने यस्ता अपराधीलाई चीन र अरु कतिपय मुलुकमा फासीको सजाय नै दिन्छन् । तर नेपालमा चुनावमा टिकट दिएर उठाउँछन् । देशका ठूला पार्टीहरुले नै ओत र संरक्षण दिन्छन् ।
खनाललाई गत वैशाखको उपनिर्वाचनमा एमालेले टिकट दिएर तनहुँ पठाएको थियो । तनहुँमा एमाले पनि कमजोर थिएन । कांग्रेसलाई कडा टक्कर दिने मत एमालेसँग थियो । तनहुँ नै पैतृकथलो रहेका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उसले उम्मेदवार बनाएको थियो । खनालको पारिवारिक पृष्ठभूमि कांग्रेस थियो । त्यसैले उनले कांग्रेसको समेत केही मत काट्ने र एमाले मत जोगाउने रणनीति थियो ।
मंसिरको चुनावमा यहाँ रास्वपाले खासै मत पाएको थिएन । बरु रास्वपाका उम्मेदवार वाग्लेले कांग्रेसकै मत काट्ने भएकाले आफ्नो प्रतिबद्ध मतका कारण चुनाव जित्ने हिसाब एमालेको थियो ।
तर विगतमा यही क्षेत्रमा झण्डै २० हजार मत ल्याएको एमालेले सर्वेन्द्र उठाउँदा जम्मा आठ हजार हाराहारी मात्र मत पायो । त्यो भनेको एमाले नेतृत्वले सर्वेन्द्र खनाललाई उठाउँदा एमाले मतदाताले विद्रोह गरेको प्रस्ट देखाउँछ ।
सर्वेन्द्र खनाल नेपाल सरकारका पेन्सनधारी थिए । बारम्बार विवादित भएका र एमाले नेतृत्वलाई रिझाएर राजनीतिक ओत पाएका व्यक्ति थिए । उनमा कुनै त्यस्तो राजनीतिक योग्यता र दृष्टिकोण थिएन । सांसद अपहरणदेखि अन्य कयौं घटनामा बदनाम मात्र थिए । काठमाडौ–६ मा एमालेलाई शर्मनाक हार चखाइसकेका तिनै खनाललाई तनहुँमा फेरि सूर्य चिन्ह भाडामा लगाएर पठाउनु तनहुँका इमानदार एमाले कार्यकर्ताहरुको अपमान र अवमूल्यन थियो । त्यसको जवाफ ती कार्यकर्ता एवं समर्थकहरुले घन्टी बजाएर दिए ।
सांसद अपहरण काण्डका नाममा पनि उनले देशमा कर्फ्यु र निषेधाज्ञा चलिरहेका बेला तत्कालीन शासन सत्ताको आडमा अवैध सुन नै ओसारेको हुन सक्ने आयोगको बुझाइ छ । तसर्थ खनालमाथि थप अनुसन्धान र जाँचबुझ गर्नुपर्छ । तत्काल उनका नाममा रेड नोटिस जारी गरी संसारको जुनकुनै भूभागमा भए पनि देशभित्र झिकाउनुपर्छ । एमालेले पनि थप क्षति हुन नदिन तत्काल पार्टीबाट कारबाही गरी अनुसन्धानमा सघाउनुपर्छ । गृहमन्त्री रवि लामिछानेले नै खनालविरुद्धको कारबाहीलाई विशेष पहलकदमी लिई प्रहरी एकाइहरुलाई निर्देशित गर्नुपर्छ ।