Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

सामुद्रिक तटमा डुङ्गा डुब्दा टर्कीएमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु

सामुद्रिक तटमा डुङ्गा डुब्दा टर्कीएमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु

images

एजेन्सी

३, चैत्र २०८०
सामुद्रिक तटमा डुङ्गा डुब्दा टर्कीएमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु
images

टर्कीएको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । पीडितहरूको राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन ।

दुई जनालाई टर्कीएका तटरक्षकहरूले उद्धार गरेको र अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको अधिकारीहरूले बताएका छन् । ग्रिसको लोम्नोस टापु नजिकैको उत्तरपश्चिमी प्रान्त क्यानाकलको टर्कीएको सबैभन्दा ठूलो टापू गोकसेडा वा इम्ब्रोसस्थित एजियन सागरको तटमा डुङ्गा डुबेको थियो ।

“सुरक्षा दलले पाँच बालबालिकासहित २१ जनाको शव फेला पारेको छ”, स्थानीय गभर्नरको कार्यालयले विज्ञप्तिमा भनेको छ । एउटा विमान, दुईवटा हेलिकप्टर, एउटा ड्रोन, १८ वटा डुङ्गा र पाँच सय दुई कर्मचारी खोजी तथा उद्धार अभियानमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीएमा अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थी रहेका छन् । समृद्ध युरोपेली सङ्घ (इयु) का मुलुकहरूतिर जान धेरै आप्रवासी टर्कीएको पश्चिमी तटबाट ग्रिक टापु पुग्ने प्रयास गर्छन् । यीमध्ये धेरैजसो खतरनाक समुद्र पार गर्दा मर्ने गर्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार रातभरमा डुङ्गा डुब्न थालेपछि शुक्रबार धेरै एम्बुलेन्स गोकसेडा नजिकैको कबातेपमा तैनाथ थिए । हालैका साताहरूमा टर्कीए र ग्रिसबीचको जल क्षेत्रमा आप्रवासीहरूको गतिविधि बढेकाे छ । साताको प्रारम्भमा ग्रिस पार गर्ने प्रयास गरिरहेका बालबालिकासहित सयौँ आप्रवासीलाई बचाएको टर्कीएका तटरक्षकहरूले बताएका छन् ।

धेरै वर्षदेखि भूमध्य सागर अफ्रिका र मध्यपूर्वबाट युरोपतिर आउने आप्रवासी प्रवाहको केन्द्र बनेको छ । सिरियाली गृहयुद्धबाट भागेका धेरै आप्रवासीले युरोपमा शरण लिन खोज्दा सन् २०१५ मा तीव्र आप्रवासी सङ्कट चरम अवस्थामा पुगेको थियो । टर्कीएले आर्थिक सहायता र अन्य प्रोत्साहनको बदलामा इयुसम्म पुग्ने प्रयास गरिरहेका शरणार्थीको आगमनलाई रोक्नका लागि सन् २०१६ मा इयुसँग सम्झौता गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - ०७:५१:३० बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology