बरादी, २१ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को वडाध्यक्ष किसान थापाले गठन गरेको उपभोक्ता समिति खारेज भएको छ। सोमबार गाउँपालिकामा भएको दुई पक्षको छलफलमा वडाध्यक्षले कानुन मिचेर मनोमानी ढंगले आफुखुसी गठन गरेको उपभोक्ता समिति खारेज गर्ने सहमति भएको हो।
पृथ्वीराजमार्गको बरादी बाट भगेरी हुँदै हिलेखर्क जोड्ने बरादी–समस्तिपुर–ज्ञानचौर–हिलेखर्क मोटर मार्गमा उपभोक्ता समिती क्रियाशिल हुदाँहुदै वडाध्यक्ष थापाले उपभोक्ताहरुलाइ जानकारी नै नदिइ आफू अनुकुलका मनोज गुरुङको अध्यक्षतामा नयाँ उपभोक्ता समितिको गठन गरेको थियो। सो को विरोधमा उपभोक्ताहरुले आइतबार वडा कार्यालय घेराउ समेत गरेका थिए।
यसैबिच बुधबारसम्म दुवै पक्षका उपभोक्ताहरुको सहमतिमा समिति पुर्नगठन गरी बाटो सरसफाई गर्ने सहमति भएको छ। उक्त विषयमा दुवै पक्ष बिच विवाद भएपछि सोमबार गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल रोहवरमा विवादित दुवै पक्ष राखि छलफल भएको थियो।
सोहि छलफलले वडाध्यक्षले गठन गरेको उपभोक्ता समिति खारेज गर्ने र दुवै पक्षको उपभोक्ता बसि बुधबारसम्ममा नयाँ समिति गठन गर्ने सहमति भएको छलफलमा सहभागी इन्जिनियर शिवराम के.सी.ले जानकारी दिए। छलफलमा वडा नं. १ स्थित सत्रसय आधिमुल सडक निर्माणमा खर्च भएको ३० लाख रुपैयाँको प्रमाण सहित असोज २५ गते भित्र वडा कार्यालयमा विवरण पेश गरि सार्वजनिक गर्ने निर्णय समेत भएको छ।