आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित गिरानचौरमा मध्यरातमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्लाको मिर्लुङबाट बिहेको जन्ती लिई छापश्वरातर्फ जादै गरेको बा १८ च ५९२१ नं. को बोलेरो जिप सोमबार मध्यरात करिब साढे १२ बजेतिर बरादी–हिलेखर्क सडकखण्ड अन्तर्गत पर्ने गिरानचौरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेको बलेरो सडकबाट करिब ५ मिटर तल खस्न पुगेको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ६ छापश्वराका ७२ वर्षीय आसबिर गुरुङ र ब्यास नगरपालिका ९ गजौडेका १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा परि १६ जना घाईते भएका छन् । घाईते हुनेहरुमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघर निवासी १५ वर्षीया सुबिना गुरुङ र बर्ष ७० को भक्कुलाल गुरुङ, सोही वडाका बर्ष ६७ को मन ब. गुरुङ, बर्ष ३८ की सुकमाया गुरुङ, बर्ष ६ की एलिसा गुरुङ, छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ, बर्ष ३७ की सुनिता गुरुङ, बर्ष ५६ को सोमलाल गुरुङ, बर्ष ३६ की आसमाया गुरुङ, बर्ष ३६ की चिजकुमारी गुरुङ र निजको छोरा १८ महिनाको सुसान गुरुङ, बर्ष ५६ को सेर ब. गुरुङ, बर्ष १०की दीक्षा गुरुङ, बर्ष ५२ को सेते गुरुङ, बन्दिपुर गाउँपालिका वडा नं. ३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ र गाडीका चालक आँबुखैरेनी गाउँपालिका वडा नं.१ गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बिश्वकर्मा रहेका छन् ।
दुर्घटनामा परि घाईते हुनेहरुको आँबुखैरेनी अस्पताल आँबुखैरेनी र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण जानकारी दिएको छ ।