चरौँदी । धादिङमा इन्द्रेणी सातौँ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता २०८० हुने भएको छ । लोक दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका ७ चरौँदीमा फागुन ५ गतेदेखि ८ गते सम्म दोहोरी प्रतियोगिता हुने भएको हो ।
सोमबार चरौँदीमा पत्रकार सम्मेलन गरि उक्त जनाकारी गराइएको हो । प्रतियोगितामा ४८ टिम सहभागी हुने प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले जानकारी दिनुभयो । प्रतियोगितामा नयाँ पुस्ताका कलाकाहरु बढी सहभागी हुने अध्यक्ष थापाले बताउनुभयो । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
प्रतियोगिताका विजेता टिमले नगद रु तीन लाख प्राप्त गर्नेछन् । द्धितिय हुनेले रु दुई लाख, तृतिय हुनेले रु एक लाख र सान्त्वना हुने एक टिमले रु ५० हजार प्राप्त गर्ने छ । दोहोरी प्रतियोगिताको ५० हजार दर्शकले प्रत्यक्ष र देशविदेशमा रहेका करीब ५० लाख नेपाली र नेपाली भाषीहरुले विभिन्न माध्यामबाट अवलोकन गर्ने प्रतिष्ठानले जनाएको छ ।
इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको प्रमुख प्रायोजन रहने यस कार्यक्रमको संरक्षक नेपाल सरकार,संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वागमती प्रदेश सरकार तथा सहकारी मन्त्रालय र बेनिघाट रोराङ गाउँपालिका रहने आयोजकले जनाएको छ । साथै कार्यक्रमको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिका, टोखा नगरपालिका वडा नम्बर ७ र लोक सञ्चारकर्मी नेपाल रहनेछन् ।
प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, पूर्वअध्यक्ष चन्द्र शर्मा, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’वडा नम्बर ५ का अध्यक्ष शिव सिलवाल, गण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तूलसी रेग्मि लगायतको उपस्थिति रहनुभएको थियो ।