घैरुङ । सहिद लखन गाउँपालिका ८ की दलित महिला सदस्य पार्वती सार्कीले आफ्नो सेवा सुविधाबापत प्राप्त रकमबाट गाउँकै दलित महिला समूहलाई भाँडाकुँडा प्रदान गरेकी छिन् । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ कार्यक्रमको शुभारम्भ समारोहमा वडा सदस्य सार्कीले वडा नं. ८ कुवापानीको दलित महिला समूहकी अध्यक्ष मिठु परियारलाई भोजभतेरमा प्रयोग हुने भाँडाकुडा हस्तान्तरण गरेकी हुन् ।
वडा सदस्य भएबापत आफूले पाउने सेवासुविधा रकम संकलन गरी ५३ हजार रुपैयाँबराबरको भाँडाकुँडा खरिद गरेर पार्वती सार्कीले दलित महिला समूहलाई हस्तान्तरण गरेको कांग्रेसका सहिद लखन गाउँपालिका सभापति काशिनाथ अम्गाईले जानकारी दिए ।
वडापार्टी सभापति इन्द्रराज ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति एवं प्रदेशसभा सांसद नन्दप्रसाद न्यौपाने, सहिद लखन गाउँ कार्यसमिति सभापति काशिनाथ अम्गाईँ, सहिदलखन ८ का वडाअध्यक्ष बासुदेव ढकाल, कांग्रेसका जिल्ला सदस्य बालकृष्ण लामिछाने, जिल्ला पार्टी सल्लाहकार सदस्य मदनप्रसाद लम्सालले मन्तव्य ब्यक्त गरेका थिए । उनीहरुले स्थानीय आवश्यकता परिपूर्तिका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।







