काउले । पछिल्लो समय चितवनमा निकै सुनिएको ठाउँको नाम हो ‘मायाटार’ । जिल्लाकै पुरानो सदरमुकाम उपरदाङगढी र हुग्दीखोलाको करिब बीच भागमा पर्ने मायाटारलाई चिनाउन तस्बिरमा भएको घरले थप सजिलो बनाएको छ । स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो । कुनै दिन त कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ ।
एकपटक पुगेकाहरुले इच्छाकामना गाउँपालिकाको वडा नं–२ मा पर्ने मायाटार भन्नासाथ यही घर सम्झिन्छन् । घरले मौलिकता दिएको छ । पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन् । त्यसले पनि विगत सम्झाएको छ । स्थानीय टीकाबहादुर गुरूङका अनुसार भत्काउने तयारीमा रहेको घरको लोकप्रियता बढ्दै गएपछि गुरूङ परिवार यो घर मर्मतको तयारीमा छ ।
‘यो घर हाम्रो परिवारले लिएकै ३५ वर्ष पुग्यो । हामीभन्दाअगाडिको धनीसँग बुझ्दा कम्तीमा पनि एक सय वर्ष पुरानो हो भन्ने कुरा थाह पायौँ । त्यसैले, अब यसलाई भत्काएर नयाँ शैलीको घर बनाउने योजनामा थियौँ । तर, यहाँ आउने सबैले यही घर मन पराएपछि अब यसलाई भत्काउनुको सट्टा खर फेर्ने तयारीमा छौँ’, आँगनमा राखेको खर देखाउँदै उनले भने, ‘किनकि यही घरले मायाटारलाई थप परिचित गराएको छ ।’
यहाँ स्थानीय आगन्तुक आउन थालेको धेरै भएको छैन । कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौँडा, वीरगन्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पथ्र्यो । तर, सडकमार्गको विकासक्रमसँगै मान्छे हिँड्न छाडेपछि अनकन्टार बनेको मायाटारमा गत वर्ष चैतयता फेरि चहलपहल बढ्न थालेको छ । ‘पहिले पहिले बटुवाहरुलाई खाना खुवाउने गरे पनि बास बसाउन सक्ने वातावरण थिएन’, गुरूङ भन्छन्, ‘गर्मी महिनामा मान्छेहरु गाउँ उक्लिन थाले । तर, बस्ने ठाउँको अभाव देखिएपछि मान्छेहरु दिउँसो आएर पनि फर्किन थाले । त्यसपछि म आफैँले पाहुना राख्ने योजना बनाएँ ।’
अहिले यही घरमा ३५ जनासम्मलाई सहज तरिकाले सुताउन सकिने व्यवस्था उनै टीकाबहादुरले मिलाएका छन् । मायाटार आउने पाहुनालाई बिहानै नजिकैको बालगौरी पाथीभरा देवीको मन्दिर दर्शन गराउँछन् । र, मीठो आतिथ्यता ग्रहणपछि बिदाइ गर्छन् ।
भीमबहादुर प्रजालाई पनि यो ठाउँमा यत्तिको चहलपहल होला भन्ने लागेको थिएन । तर, सडक विस्तारसँगै स्थानीयलाई पनि धेरै सहज भएको उनी बताउँछन् । ‘यो सबै बाटोकै कारण भएको हो’, उनी भन्छन्, ‘कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन् ।’ घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका हरेक वस्तुले बजार पाएको उनी बताउँछन् ।
‘मायाटारमै बास बस्न पाउने भएपछि घुम्न आउनेहरुले पनि यहाँको कृषि उत्पादन लैजान्छन्’, उनले भने, ‘हिजो नौलो मान्छे देख्दा भाग्ने गाउँलेलाई अहिले बजारसँग घुलमिल गराउन सजिलो बनाएको छ ।’ आफ्नो ठाउँमा नयाँ मान्छे आएर रमाएको देख्दा आफूलाई पनि रमाइलो लाग्ने गरेको उनले सुनाए । ‘पहिले पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो । तर, बाटो पिच भएपछि त धेरै मान्छेहरु आउन थाले’, उनी भन्छन् ।
पछिल्लो समय नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने हुँदा दुईपाङ्ग्रे सवारीसहितका साना सवारी पनि यही बाटो हिँड्न थालेको भीमबहादुर बताउँछन् । ‘काठमाडौँबाट हेटौँडातिर जाने मान्छेहरुलाई त फिस्लिङबाट यो बाटो जान सजिलो छ’, उनी भन्छन्, ‘त्यही भएर पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन् ।’ यो बाटो पृथ्वीराजमार्गको जवाङ खोला, फिस्लिङलगायतका स्थानबाट हुग्दीखोला, उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ । चितवनपोष्टबाट