कुरिनटार । यतिबेला चितवनको इच्छाकामना गाउँपालिकाका तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङ जस्ता गाउँहरु सुन्तला पाकेर पहेलापुर हुन थालेको छ । यहि बेला गाउँपालिकाले भने किसानलाई प्रोत्साहन गर्न पहिलो पटक सुन्तला महोत्सव गर्ने तयारी थालेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका अधिक सुन्तला उत्पादन हुने गाउँहरुलाई समेटेर सुन्तला महोत्सव गर्ने तयारी थालेको हो ।

गाउँपालिकाको वडा नं. ३ स्थित माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडे लगायतका गाउँहरुलाई समेटेर सुन्तला महोत्सव गर्न लागिएको छ । इच्छाकामना गाउँपालिकाका करिब ३ यस बिगाहा भन्दा बढि जग्गामा सुन्तला खेती हुने गरेको छ भने महोत्सव लगाउन लागिएको यी गाउँहरुमा मात्रै १ सय बिगाहा भन्दा बढि जग्गामा सुन्तला खेती हुने गरेको छ ।
गाउँपालिकाले यहि पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । यसका लागि यति किसानसँगै छलफल गरिरहेको उहाँले बताउनभयो । उहाँले भन्नुभयो ‘महोत्सले इच्छाकामनाको सुन्तलाको प्रचारप्रसार एवं बजार प्रवद्र्धन गर्न सहयोग पुग्छ ।’

सुन्तला महोत्सवमा पाहुनाहरुलाई आकर्षणका लागि बोटमै टिपेर सुन्तला खानपाउने, सुन्तला कसले धेरै खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिने जस्ता क्रियाकलापहरु गरिनुका साथै महोत्सवमा आउने पाहुनाहरुको लागि सशुल्क खाने बस्नेको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो ।