Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

साउदीमा तलब नदिएपछि धमाधम रोजगारदाता छोड्दै नेपाली

साउदीमा तलब नदिएपछि धमाधम रोजगारदाता छोड्दै नेपाली

इच्छाकामना न्युज

२६, मंसिर २०८०
साउदीमा तलब नदिएपछि धमाधम रोजगारदाता छोड्दै नेपाली

काठमाडौं। दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो ।

images

पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिसा लगाउनुपर्ने भएपछि उनी गत ५ नोभेम्बरमा नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि विशालकुमार श्रेष्ठ र अली हुसैन मियाँको सम्पर्कमा पुगे । उनलाई आवश्यक कागजात बनाएर सफर जेल पठाइयो । १५ दिन जेल बसेपछि गत २० नोभेम्बरमा सफर जेलमार्फत एक्जिट (बहिर्गमन) भिसा प्राप्त गरी उनी नेपाल फर्किए ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला दिनमा साउदीमा कार्यरत वैदेशिक कामदारलाई रोजगारदाता कम्पनीले अकमा नबनाइदिने, करार बमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेका नेपाली दाजुभाइ बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनु परिरहेको छ । साथै प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

यस्ता घटना कम गर्न नेपाली दूतावास रियादले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यसका लागि दूतावास तथा साउदीमा भएका नेपाली समाजका अगुवाले साथ सहयोग गर्ने जनाएको छ ।

पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसार तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने अवस्था छ ।

साउदीमा ११ हजारभन्दा बढी नेपालीले गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ । यो दूतावासको सम्पर्कमा आएकाको मात्र तथ्यांक हो ।

साउदी छोड्दा ट्राफिक जरिमाना, गाडी दर्ता भए बुझाउनुपर्ने

साउदी अरेबिया छोड्दा ट्राफिक जरिमाना, गाडी दर्ता भए वा बुझाउनुपर्नेछ । महावाणिज्यदूतावास जेद्धाले एक सूचना जारी गर्दै एक्जिट भिसा लागेकाका नाममा ट्राफिक जरिमाना, गाडी दर्ता भए बुझाउनुपर्ने जनाएको छ । दूतावासका अनुसार अन्य कुनै कुरा भए सो बुझाएपश्चात मात्र साउदी अरेबिया छोड्न पाइनेछ ।

जरिमाना नबुझाए साउदीबाट नेपाल फर्कने क्रममा त्यहाँको अध्यागमनले रोक्ने र जरिमाना तिराएर मात्र जान दिने नियम रहेको छ । साउदीमा गैरकानुनी रूपमा कार्यरत नेपालीले पनि आफ्नो कम्पनी छाडेर भागेको खण्डमा रोजगारदाताले जरिमाना लगाएमा त्यो तिरेर मात्र स्वदेश फर्कन पाउनेछन् ।

१ सय ५ नेपालीलाई एक्जिट भिसा

साउदीमा गैरकानुनी रूपमा रहेका १ सय ५ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसा (एक्जिट भिसा) प्रक्रिया गरिएकामध्ये १ सय ५ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिन दूतावासमा आइरहनु नपर्ने दूतावासले जनाएको छ ।
राजधानी दैनिकमा खबर छ

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क रहेको छ । यसबापत एक हलाला पनि कहीँ कतै बुझाउनुपर्दैन । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ । एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेहुन्छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - ०८:३९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology