इच्छाकामना । दसैँसम्म बत्ती बाल्छौँ भनेका ठेकेदारले यो वर्षभित्र बल्छ भनेपछि स्थानीय सशङ्कित बनेका छन् । वैशाख २१ गते झरेको पोल छ महिना बितिसक्दा पनि नगाडिँदा स्थानीय सशङ्कित बनेका हुन् ।
विद्युत् प्राधिकरण भरतपुरका इन्जिनियर राजेन्द्र पौडेलले तिहारपछि काम सुरू हुने बताए । सामान नहुँदा काम रोकिएको तर अहिले आपूर्ति भइसकेकाले काम हुने उनले बताए । विद्युतीकरणको जिम्मा लिएको कम्पनीका जनक रोकायाले तिहारलगत्तै काम थालिने बताए ।
‘इच्छाकामनाका अन्य ठाउँमा काम भइरहेको छ, रोकिएको ठाउँको काम पनि तिहारपछि सुरू गर्छौं’, उनले भने, ‘अहिलेसम्म आवश्यक सामान नआएर रोकिएको हो, अझै हाइटेन्सन पोल आइसकेको छैन । तर, हामी जे–जति सामान छ सबै लगेर तिहारपछि काम गर्छौं ।’ वर्षात्को समयमा ढुवानी र स्थलगत काम गर्न पनि असहज हुने भएकाले हिउँदमा बाँकी काम सक्ने रोकायाको भनाइ छ ।
दुम्किम, मायाटार, थापाथली, डाँडागाउँ, भोर्लेलगायतका ठाउँमा विद्युत्का लागि बिजुली पोल लगे पनि छ महिनादेखि अलपत्र अवस्थामा राखिएको भन्दै स्थानीयले काम अधुरो भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । मायाटारमा होमस्टे सञ्चालन गरेर बसेका टीका गुरूङले पोल झारेको छ महिनासम्म पनि नगाडिनुले गाउँलेहरु सशङ्कित भएको बताए ।
‘दसैँसम्म बल्छ भन्ने आश्वासन पायौँ, तिहारमा बिजुली बालेर झिलिमिली पार्ने योजना थियो, यो वर्षलाई चाहना अधुरै भयो’, गुरूङले भने ।
चार वर्ष पहिले नै ठेक्का पारेको ठेकेदारले काम नगर्दा इच्छाकामना–२ लगायतका उच्च पहाडी भागमा विद्युतीकरणको काम अलपत्र छ । कहीँकतै भने काम निरन्तर भइरहेको छ । काम नगर्ने ठेकेदारलाई मुद्दा हालेपछि पुनः चालू वर्षमै नयाँ टेन्डर आह्वान भयो । त्यतिखेर छ करोडको ठेक्का लागेको थियो ।
अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरूडले जानकारी दिए । अब कुनै पनि बहानामा काम नरोकिने भन्दै उनले विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भइरहेको बताए । पोल र तारहरु प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टांग्ने काम ठेकेदार पक्षले गर्ने भएको छ ।
इच्छाकामनाका सातवटै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुन लागेको हो । केही समयअघि पर्यटकीय एवम् ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं–७ का सबै ठाउँमा बिजुली पुगिसकेको प्रमुख दानबहादुरले बताए ।
आगामी आर्थिक वर्षभित्रै सक्ने गरी धमाधम काम भइरहेको छ । वडा नम्बर–३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ । तर, पहाडी क्षेत्र अधिक रहेको वडा नम्बर–१ मा १५ प्रतिशत, र ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । वडा नं–२ मा कुनै पनि ठाउँमा बिजुली छैन । मोबाइल चार्ज गर्न पनि शक्तिखोर जानुपर्ने बाध्यता रहेको मायाटारका स्थानीय टीका गुरूडले बताए । चितवनपोष्ट दैनिकबाट