जलबिरे । चितवनको इच्छाकामना गाउँपालिका वडा नंं. ६ स्थित जलबिरेमा श्रीमद्भागवत सप्ताह ज्ञान महाज्ञ तथा इच्छाकामना जलबिरे धार्मिक महोत्सव सुरु भएको छ । पितृमोक्ष र जलदेवी मन्दिरको संरक्षण तथा धार्मिक पर्यटकीय आकर्षणको लागि भौतिक संरचना निर्माण गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महाज्ञ तथा इच्छाकामना जलबिरे धार्मिक महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस मन्दिरको भौतिक संरचना निर्माण तथा चौतर्फी विकासका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले यस पुण्यकाममा सबै लागी पर्नुपर्ने बताउँदै यस धार्मिक महोत्सवले आर्थिक सहयोग मात्र नभएर धार्मिक तथा यहाँ रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
धेरै दुर्घटना हुने गरेका यस स्थानमा पितृमोक्ष र मन्दिरको संरक्षण तथा धार्मिक पर्यटकीय आकर्षण गर्न भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउन श्रीमद् भागवत तथा धार्मिक महोत्सवको आयोजना गरिएको जलदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन गुरुङले बताउनुभयो । यहाँ यस अघि विभिन्न दाताहरुको सहयोगमा धर्मशाला निर्माण गरिएको बताउँदै यहाँको अन्य आवश्यक भौतिक निर्माणका लागि पनि सहयोग जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा धार्मिक अभियन्ता पण्डित बासुदेव घिमिरेको मुखराविन्दबाट कथावाचन हुनेछ । महोत्सवमा कथावाचनका साथै तुलादान, ब्रतबन्ध, पितृमोक्ष कार्य, चौरासी पूजा जस्ता विविध धार्मिक कार्यहरु हुने पण्डित बासुदेव घिमिरेले बताउनुभयो ।
जलदेवी मन्दिर संरक्षण समितिका सल्लाहकार अमर अधिकारीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको मुख्य राजमार्गमै पर्ने उक्त मन्दिर स्थल नजिकै अत्याधिक दुर्घटना भएर यात्रुहरुको अकालमा ज्यान जान थालेपछि भरतपुर निवासी डा. हेमबिर श्रेष्ठको नेतृत्वमा स्थानियसबासी मिलेर वि.स. २०४२ सालतिर जलदेवी माता रहेको स्थानमा मन्दिर निर्माण गरिएको हो ।
डा. श्रेष्ठले अत्याधिक दुर्घटना हुने गरेपछि देवघाटमा गई हेराउँदा जलदेवी मन्दिर स्थापना गर्न सल्लाह पाएपछि उहाँ मन्दिर निर्माणका लागि जुट्नुभएको थियो । सोही मन्दिरको चौतर्फी विकासका लागि हाल मन्दिर संरक्षण समितिले डिपिआर निर्माण गरि धार्मिक महोत्सव आयोजना गरिएको हो ।
नारायणगढ मुग्लिन ससडक भएर यात्रा गर्ने यात्रुहरुले यात्रा सफलहोस् भनेर यस जलदेवी मन्दिरमा दर्शन गर्छन् । यस मन्दिरमा दर्शन गरे यत्रा सफल र सुरक्षित हुने धार्मिक विश्वास रहेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले धार्मिक महोत्सवलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
समुद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति रहेका थिए ।
कार्यक्रम जलबिरे लामो झरना पर्यन समितिका अध्यक्ष देबकुमार गुरुङले सञ्चालन गर्नुभएको थियो ।
आज कार्तिक १५ गतेदेखि सुरु भएको उक्त धार्मिक महोत्सव कार्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।