मुग्लिन । इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा रहेको एभरेष्ट होटल एण्ड क्याफेले लापर्बाही दोहोर्याएको छ । यसअघि पनि ग्राहकलाई दुर्गन्धित खाना खुवाएर कारबाहीमा परेको यस होटलमा मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा अनुगमन गरिएको थियो । पृथ्वी राजमार्गको छेउमै रहेको यस होटलले लापर्बाहीलाई निरन्तरता दिएको भेटिएको हो ।
दोस्रोपटकको अनुगमनमा पनि होटलको किचन सन्तोषजनक नभेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी आक्रोशित देखिए । तेस्रोपटक अनुगमन आउँदा पनि लापर्बाही गरेको भेटिए खाद्य ऐनअनुसार मुद्दा चलाउने अधिकारीले चेतावनी दिए ।
‘तेस्रोपटक आउँदा पनि यस्तै अवस्था देखियो भने उहाँले व्यवसायबाटै हात धुनुपर्ने हुन सक्छ । खाद्य ऐनमा भएको व्यवस्थाअनुसार कारबाही हुन्छ । त्यसमा पाँच वर्षसम्म जेल हुन सक्ने व्यवस्था छ’, उनले भने, ‘अहिलेलाई गाउँपालिकाको अनुगमन समितिको संयोजकको जिम्मा लगायौँ, त्यसभन्दा अगाडि बढ्नुप¥यो भने मुद्दा नै चल्छ ।’ अनुगमनका क्रममा झिँगा भन्किएका मासु, तरकारीलगायतका खाद्यान्न नष्ट गरिएको छ भने होटल सुधार्ने जिम्मा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष एवम् गाउँपालिकाको अनुगमन समिति संयोजक माया सिलवाललाई दिइएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सिलवालले पटकपटक लापर्बाही गर्नेलाई संरक्षण गर्न नसकिने बताइन् । होटलको किचन सरसफाइ गर्न एक हप्ताको समय दिइने भन्दै उनले युवाले स्वदेशमै बसेर व्यवसाय गरेकाले फोहोर व्यवस्थापन र गुणस्तरीय खानेकुरामा पनि ध्यान दिन आग्रह गरिन् । ‘संवेदनशील भएर गर्ने हो भने होटलमा जनशक्ति छ, जनशक्ति हुँदाहुँदै पनि किन कमजोरी भयो ?’, उनले भनिन् ।
वडाले नै दियो फर्जी प्रमाणपत्र
इच्छाकामना गाउँपालिकाको वडा नं–४ को कार्यालयले फर्जी प्रमाणपत्र जारी गरेको भेटिएको छ । इच्छाकामना–४, कुरिनटारको तनहुँ होटल एण्ड खाजा घरलाई वडा कार्यालयले फर्जी प्रमाणपत्र दिएको हो । प्रमाणपत्रमा वडा सचिवको हस्ताक्षर छैन भने कर तिरेको रसिद पनि आफूले नपाएको व्यवसायी सविना गुरूङले बताइन् । व्यवसाय प्रमाणपत्र जारी गर्दा कर्मचारीले भ्रष्टाचार गरेको आशङ्का गरिएको छ ।
‘व्यवसाय दर्ता गर्दा वडाको सरलाई सात हजार दिएँ, तर मलाई रसिद नै दिनुभएन’, उनले भनिन् । ग्राहककै अनभिज्ञताका कारण प्रमाणपत्रमा हस्ताक्षर छुटेको हुन सक्ने गाउँपालिका उपाध्यक्ष सिलवालले बताइन् । दुई हजार लाग्ने करमा सेवाग्राहीले सात रूपैयाँ तिरेको बताएको भन्दै उनले वडामा यसबारे थप कुरा बुझ्ने बताइन् ।
अनुगमनमा प्रशासन कार्यालयका नासु विश्वास श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद पोखरेल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाल, राष्ट्रिय उपभोक्ता मञ्च चितवनका अध्यक्ष जीवलाल पुरीलगायत सहभागी थिए ।
एक लाख ३० हजार जरिवाना
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मुग्लिनका तीन व्यवसायीलाई एक लाख ३० हजार रूपैयाँ जरिवाना तिराएको छ । मंगलबार विभागले पनि मुग्लिन बजारमा अनुगमन गरेको थियो । डिबिएम ट्रेडर्सलाई एक लाख, दाल भात पावरलाई २० हजार र रिजाल जनरल स्टोर्सलाई १० हजार रूपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । म्याद गुज्रिएको सामान बिक्री गरेको र सरसफाइ कायम नगरेकाले तीनवटा व्यवसायलाई जरिवाना गरिएको बताइएको छ । चितवनपोष्ट देैनिक बाट