कुरिनटार । चाडपर्व नजिकिँदै गर्दा चितवन ट्राफिकले दुर्घटना न्युनिकरणका लागि राजमार्गको विभिन्नठाउमा छड्के चेकजाच शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र ट्राफिक प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले आज कुरिनटारमा सवारी साधनको छड्के चेकजाच गरेको हो ।
चेकिङ्गको क्रममा तोकिएको भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने, तिव्र गतिमा सवारी हाक्ने, सवारीसाधनको अवस्था ठिक नभएको सवारी साधन चलाउने आदी चेकचाज गरिनुका साथै लामो दुरी चल्ने सवारी साधनमा थप चालक राखे–नराखेको, ठाउठाउमा खाजा खान वा शौचालय जान रोके–नरोकेको बारेमा यात्रुहरुसंग सोधपुछ समेत गरेको ट्राफिक प्रमुख सुवेदीले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको टिकौली जङ्गलमा असोज १० गतेदेखि गति मापन सुरु गरिएकोमा हालसम्म ७६ वटा सावरी चालकलाई तिव्र गतिमा सवारी हाकेको कारण कारबाही गरिएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघण्टा ४० किलोमिटरभन्दा छिटो गतिमा सवारी चलाएको पाइएमा कारबाही गर्ने गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४१ वटा सवारी दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका छन्। जिल्लामा वि सं २०७२ मा पहिलो पटक राडर गनमार्फत सवारीको गति मापनको काम सुरु गरिएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार पूर्व–पश्चिम राजमार्गमा १३ वटा, नारायणगढ–मुग्लिन सडकमा ७ वटा, पृथ्वी राजमार्गमा २ वटा, सहरी सडक खण्डमा ३ वटा र भित्री सडकमा १६ वटा दुर्घटना भएको जनाएको छ । ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै यात्रुहरुको चाप बढी हुने स्थानहरुमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ ।