आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित मार्किचोकमा रहेको सुरज मिनिरल वाटर उद्योग जिल्ला प्रशासन कार्यालय तनहुँले बन्द गरिदिएको छ । उद्योगले उत्पादन गरेको छिम्केश्वरी ब्राण्डको पानीको बोत्तलमा लेउ भेटिएपछि मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ र आवुँखैरेनी गाउँपालिकाको संयुक्त टोलीले उद्योगको अनुगमन गरी कमजोरी भेटिएकोले बन्द गरिदिएको हो ।
उक्त उद्योगबाट उत्पादित पानीमा लेउ भेटिएको बारेमा गत सोमबार स्थानीय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । गत आइतबार व्यास नपा–१४ केशवटारका केही युवाहरुले पिउन भनि किनेको पानीको आधा दर्जन बोतल भित्र लेउ भेटिएको थियो । गत सेप्टेम्बर महिनामा सिल प्याक गरिएको उक्त पानीको बोतलमा एक महिना भित्रैमा प्रसस्त लेउ भेटिएको थियो । लेउ भेटिएपछि सबै पानीका बोतल जिल्ला प्रशासन कार्यालयमा ल्याएर बुझाइएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ र आवुँखैरेनी गाउँपालिकाको मंगलबार गरेको अनुगमनको क्रममा खाद्य ऐन, २०२३ बमोजिमको प्रशोधित पिउने पानी उत्पादन सम्बन्धि निर्देशिका, २०७४ बमोजिम विभिन्न मापदण्डहरु पालना नगरेको देखिएको भनि खाद्य निरिक्षक प्रशान्त पोख्रेलको प्रतिबेदन पछि प्रशासनले उक्त उद्योग बन्द गराएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए ।
तोकिएको मापदण्डहरु पुरा नगरेसम्म उद्योगको उत्पादनमा रोक लगाईएको सहायक प्रजिअ गैह्रेले बताए । प्रशासनले उक्त उद्योग बन्द भए नभएको बारेमा निरिक्षण गर्न इलाका प्रहरी कार्यालय आवुँखैरेनीलाई निर्देशन दिएको छ ।