मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका र आसपासका स्थानिय तहभित्र रहेका पुराना तथा नयाँ प्रतिभाको प्रचारप्रसार तथा संरक्षणका लागि ‘इच्छाकामना त्रिवेणी कला केन्द्र’ नामक संस्था गठन भएको छ। करिब दुई हप्ताअघि मात्रै तदर्थ समिति गठन गरेको कला केन्द्रले शनिबार मुग्लिन बजारमा एक कार्यक्रमको आयोजना गरि काजीमान थापामगरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गर्नुका साथै पदभारसमेत ग्रहण गरेको छ।
बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल लगायतको उपस्थितिमा कला केन्द्रका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका हुन्। उनीहरुलाई इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माले सपथग्रहण गराएका थिए।

कला केन्द्रले चितवनको इच्छाकामना गाउँपालिकाका साथै गोरखाको गण्डकी र शहिद लखन, धादिङको बेनिघाट रोराङ, तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिका भित्र रहेका कला, साहित्य र संस्कृति संरक्षणसँगै स्थानीय कलाकारलाई विभिन्न खालका अवसर प्रदान गर्दै जाने कला केन्द्रका अध्यक्ष काजीमान थापामगरले जानकारी दिए। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन दिलाउन पनि यो संस्थाले विशेष भूमिका खेल्ने छ,’ उनले भने।
सोही अवसरमा इच्छाकामनाका नयाँ तथा पुराना स्रष्टाहरुमार्फत विभिन्न खालका गीत संगीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको कला केन्द्रका सचिव पृथ्वी गुरूङले जानकारी दिए। उनका अनुसार लोप हुन लागेका बाजाको समेत संरक्षण गर्ने उद्देश्यले प्रतिभा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले धेरै पछि मुग्लिनमा सांगेतिक माहोल बन्न लागेकोमा खुशी व्यक्त गरे । सासंद सिलवालले कार्यक्रमलाई सम्बोन्धन गर्दै केन्द्रको कुनैपनि कामहरुमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताए । यस्तै कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायतका विभिन्न संघ संस्थाबाट उपस्थित अतिथिहरुले केन्द्रको सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त दिएका थिए ।