भरतपुर । पेट दुखाइको समस्याले गर्दा गत हप्ता गोरे प्रजा (चेपाङ) उपचारका लागि इच्छाकामना–२, काउलेबाट भरतपुर झरे । उनी ८४ वर्षका भए । बुहारी अनिशाको साथ लागेर आएका उनी डाक्टरले केही रिपोर्ट हेर्नुपर्छ भनेपछि आवश्यक नमुना दिएर गाउँ फर्के । मंगलबार रिपोर्ट आयो । डाक्टरले सिटी स्क्यान गर्नुपर्ने बताए । मंगलबार दिउँसो अनिशाले ससुरा बुबालाई भरतपुर लान प¥यो भनी गाउँमा फोन गरिन् । सोही दिन बेलुका गोरे पदमपुर छोराको घरमा आएर बसे ।
बुधबार बिहान ८ बजे घरनजिकैको अटो चढेर ससुरा, बुहारी भरतपुर आए । सिटी स्क्यानका लागि पैसा मागेपछि उनीहरु अल्मलिए । चेपाङ जातिले निःशुल्क उपचार पाउने भनिएको भए पनि उनीहरुले गत हप्ता पैसा तिरेर नै उपचार गराएका थिए ।
सिटी स्क्यान गर्न पैसा नभएपछि सामाजिक सेवा इकाइमा गएर आफूहरु चेपाङ जाति भएको बुहारी अनिशाले बताइन् । तर, उक्त कक्षका मानिसहरुले साउन १ गतेबाट नियम फेरिएको र अब विपन्न नागरिकलाई मात्र निःशुल्क सेवा दिने र त्यो पनि भर्ना भएर बसेको बिरामीको हकमा मात्र लागू हुने जवाफ दिए ।
गोरे प्रजा नियमित वृद्धभत्ता खान्छन् । यातायात खर्च र अघिल्लोपटक जचाउँदा लागेको खर्च व्यहोर्दा उनको यसपटकको भत्ता सकिइसकेको छ ।
जानेबुझेको मानिसलाई गुहारेपछि उनको सिटी स्क्यान खर्च निःशुल्क हुने भयो । ती व्यक्तिमार्फत अस्पतालका प्रशासकलाई भेटे । अस्पतालका प्रशासकले चेपाङ, विपन्न र वृद्ध भएकाले बिरामी निःशुल्क उपचारको हकदार भएको भनी निःशुल्क गरिदिन भन्दै टिकटमा लेखिदिए । त्यसपछि सामाजिक सेवा इकाइका कर्मचारी निःशुल्कको कागज बनाउन बाध्य भए ।
अस्पतालबाट पाइने सेवा निःशुल्क हुने भयो, तर सिटी स्क्यान गर्दा चाहिने औषधि उनीहरुले बाहिर फार्मेसीमा किने । बिहान ९ बजे अस्पताल आएका उनीहरु निःशुल्क उपचारका लागि भौँतारिँदा १२ बज्यो । सिटीका लागि खाली पेट बस्नुपर्ने थियो । बिहान ८ बजे घरबाट जाउलो खाएर आएका ८५ वर्षीय गोरेको पालो ५ घन्टापछि मात्रै आयो । उनको सिटी स्क्यान गर्दा पौने पाँच भएको थियो । उनलाई सिटीका कर्मचारीले आइतबार अर्थात् ४ दिनपछि मात्रै रिपोर्ट लिन आउनू भने । त्यसपछि उनी बुहारीको साथ लागेर घर फर्किए ।
४४ वर्ष उमेर भनी २०४१ सालमा उनको नागरिकता बनेको पाइन्छ । तर, अस्पतालका कर्मचारीले नागरिकतामा ४४ लेखेको भनी उनको उमेर पनि ४४ नै कायम गरिदिएका छन् । अस्पतालको रेकर्डमा ४४ वर्ष छ, तर नागरिकताको हिसाबले उनको उमेर ८४ हुन्छ ।
भरतपुर अस्पतालका मेसु प्रा.डा. कृष्णप्रसाद पौडेलले विपन्न नागरिकका लागि उपचारमा कुनै समस्या नभएको बताए । अब जातको आधारमा भन्दा पनि आर्थिक अवस्थाका आधारमा सेवासुविधा पाइने उनको भनाइ छ । अस्पतालले साउन १ गतेबाट आर्थिक विपन्नलाई सेवा दिने भनेको छ । तर, जातीय आधारमा सुविधा पाउँदै आएकाहरु भनसुन गर्न नसक्दा विपन्नै भए पनि सुविधा पाउनबाट वञ्चित हुने गरेको एउटा उदाहरण पात्र गोरे चेपाङ बनेका छन् । यो समाचार दिपेन्द्र अधिकारीले चितवनपोष्ट दैनिकमा लेखेका छन् ।