कुरिनटार । निर्माणको क्रममा जग्गा स्वामित्व विवादका कारण तीन बर्षदेखि अलपत्र रहेको चितवनको इच्छाकामना ४ कुरिनटारमा निर्माणधिन इच्छाकामना अस्पतालको निर्माण कार्य पुनः सुचारु भएको छ । जग्गा स्वामित्व विवाद समाधान भएसगैँ अलपत्र परेको अस्पतालको निर्माणको कार्य सुचारु गरिएको हो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालय चितवनले जग्गाको स्वामित्व दिन इन्कार गरेपछि अस्पताल निर्माण कार्य रोकिएको थियो । अहिले जग्गा स्वामित्वमा आएसगैँ अस्पताल निर्माणको काम सुचारु गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालका अनुसार चालु आर्थिक वर्षमा केन्द्र सरकार अन्तर्गत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इच्छाकामना अस्पतालको डिपिआर स्वीकृत गराई १८ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए ।
टेण्डर आव्हान गरि १३ करोड ५९ लाख ११ हजार ५ सय ७१ रुपैयाँ ९७ पैसामा निर्माण गर्ने गरि निर्माण कम्पनीसँग सम्झौता गरि निर्माण कार्य पुनः सुचारु गरिएको प्रमुख प्रशासकिय अधिकृत भुषालले बताए । उनले आगामी साढे दुई बर्ष भित्रमा अस्पताल निर्माणको काम सम्पन्न हुने बताए ।
गाउँपालिकाको १० करोड रुपैयाँ आन्तरिक लगानीमा २५ शैयाको अस्पताल निर्माण गर्ने गरी आर्थिक वर्ष २०७६।०७७ मा अस्पताल निर्माणको काम सुरु गरिएको थियो । तात्कालिन समयमा तराई मधेश कार्यक्रम अन्तर्गत ५० लाख र गाउँपालिकाको २० लाख रुपैयाँमा सुरु भएको थियो ।
पछि संघिय सरकारले देशैभर एक स्थानीय तह एक आधारभुत अस्पताल बनाउने योजना गरेसँगै इच्छाकामना गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना प¥यो र सोही योजनालाई निर्माणधिन इच्छाकामना अस्पतालको योजनामा गाभियो । तर अस्पताल निर्माण गरिरहेको जग्गा अस्पतालको आफ्नो स्वामित्वमा नआएको भन्दै मन्त्रालयले बजेट दिन अस्वीकार गरेपछि रकम अभावकै कारण अस्पताल निर्माणको काम तीन वर्ष देखि अलपत्र बन्न पुगेको थियो ।
गाउँपालिकाले अस्पताल निर्माण गरिरहेको क्षेत्र वनको जग्गा पर्ने भन्दै जिल्ला वन कार्यालय चितवनले जग्गाको स्वामित्व दिन इन्कार गरेपछि विवादकै कारण लामो समयदेखि निर्माणको काम रोकेका थिए । गाउँपालिकामा निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधि लगायत सबैको निरन्तर पहलकदमी र जिल्ला वन कार्यालय चितवनसँगको पटक–पटकको छलफल पश्चात अस्पतालको स्वामित्वमा जग्गा ल्याउन सफल भएर अस्पताल निर्माणको काम सुचारु गरिएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।
अस्पताल निर्माण पश्चात संचालनमा आएपछि इच्छाकामना सहित गोरखाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई समेत सेवा दिन सक्ने अध्यक्ष गुरुङले बताए ।
यस्तै काठमाडौँ भित्रिने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुनेछ ।