घैरुङ । शहिदलखन गाउँपालिकाभित्र रहेका चार वटा प्रहरी चौकीलाई विपद प्रतिकार्य सामग्री प्रदान गरिएको छ ।
राइनास प्रहरी चौकी ताक्लुङ, घैरुङ प्रहरी चौकी, प्रहरी चौकी मनकामना र बुङ्कोट प्रहरी चौकीलाई सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
आइतवार एक कार्यक्रमका बीच पालिकाका अध्यक्ष रमेश थापाले चौकीलाई सामग्री हस्तान्तरण गरेका हुन् । फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट, मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यू रोप, फायर एक्स्टीङगुइसर लगायतका २१ प्रकारका सामग्री वितरण गरिएको गाउँपालिका विपद फोकल पर्सन मेघनाथ यादवले बताए ।
करिव १५ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको उनको भनाइ छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल नामक संस्था एवं गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको हो ।