जलविरे । चितवनमा एकसाता यता गर्मी बढेको छ । गर्मी बढेकै कारण सबैजसो पालिकाले विद्यालयमा बिदा आह्वान गरेका छन् । शुक्रबार र शनिबार यहाँको तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । चितवनका मानिसहरू स्विमिङ पुल, खोला, झरना र नदीमा गएर नुहाउन थालेका छन् । बढ्दो गर्मी छल्न इच्छाकामना गाउँपालिका ६ जलविरेस्थित लामो झरनामा ठूलो संख्यामा मानिसहरू आउन थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
नारायणगढ ( मुग्लिङ सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामो झरना नारायणगढबाट मुग्लिङतर्फ २७ किमी र मुग्लिङबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किलोमीटर उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ ।
वीरगञ्जबाट आएकी शिला महतोे झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको महसुस भएको बताइन् । उनले भनिन्, पहिलोपटक आएकी हुँ, यहाँको झरना देखेर मन लोभिएको छ, सामाजिक सञ्जालमार्फत झरना बारेमा थाहा पाएर साथीहरुसँग घुम्न आएको उनले सुनाइन् ।
विसं २०६९ देखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ(मुग्लिङ सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् ।
गत वर्षहरु भन्दा यस वर्ष पर्यटकको आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । यहाँ पौडी खेल्न र नुहाउन आउनेका सङ्ख्या बढ्दो छ, उनले भने ( बिदाको दिन र शनिबार औसतमा पाँच सय र अन्य दिन करिब दुई सय पर्यटक यहाँ आउने गरेका छन् ।”
झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङका लागि पर्यटक आउने गरेको उनले बताए । झरना अवलोकनका लागि इच्छाकामनाका बासिन्दाले प्रतिव्यक्ति रु २५ र अन्य स्वदेशीले प्रतिव्यक्ति रु ५० प्रवेश शुल्क तिर्नुपर्छ । विदेशीले प्रतिव्यक्ति रु १०० तिर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवेश शुल्कबाट प्राप्त भएको सबै रकम इच्छाकामना गाउँपालिकाले लिने गरेको छ ।
झरना पुग्ने सडक निर्माणसँगै शौचालय, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम पनि गर्ने तयारी गरिएको छ । झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन निर्माणको तयारी गरेका छौँ, गुरुङले भने, पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ । यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको गुरुङ बताउँछन् ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जलविरे झरना पर्यटकको रोजाइको गन्तव्य बनेको बताए । उनले प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडी पोखरी निर्माण गरिएको जानकारी दिए ।
यो झरना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बनेको छ, उनले भने वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ । अध्यक्ष गुरुङले यहाँ पर्यटकलाई केही समय रहने वतावरण तयार गर्ने गरी काम भइरहेको बताए । उनले कर्मचारी राखेर दैनिक झरना वरपरको सरसफाइ गरिरहेको जानकारी दिए ।
आगामी आर्थिक वर्षमा नजिकै रहेको गाउँहरुमा पर्यटकलाई लैजाने र त्यही बाटो हुँदै इच्छाकामना मन्दिर पुर्याउने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले बताए ।