शहिदलखन गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सार्वजनिक विदाका दिनहरुमध्ये १३ दिन कर्मचारी व्यवस्थापन गरी सेवा दिने पालिकाले जनाएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले सो कुरा जानकारी गराएको हो ।
ती विदाका दिन वडा कार्यालयबाट प्रदान गरिने सिफारिस लगायतका सेवाहरु तथा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवाहरु निरन्तर प्रवाह हुने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
वैशाख २२ गतेको उँभौली पर्व, चण्डी पूर्णिमा, बुद्ध जयन्तीका दिनमा सरकारले सार्वजनिक विदा दिएको छ । त्यस दिनमा पनि सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।
त्यस्तै रक्षाबन्धन भनेर सार्वजनिक विदा दिइएको भदौ १४ गते, श्रीकृष्ण जन्माष्टमी भनेर विदा दिइएको भदौ २० गते पनि सेवा संचालन हुने बताइएको छ । असोज २८ गतेको घटस्थापना र पुस ९ गतेको इसाई धर्मालम्बीहरुको पर्व क्रिसमस डेको दिनमा पनिसेवा प्रवाह हुनेछ ।
त्यस्तै पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही, पौष १५ गतेको तमु ल्होसारका दिनमा पनि सेवा सुचारु हुनेछ । माघ १ गतेको माघी पर्व, माघ २७ को सोनाम ल्होसार, फागुन २५ को महाशिवरात्र, फागुन २८ गतेको ग्याल्पो ल्होसार र इस्लाम धर्मालम्बीहरुको पर्व इद उल फित्र, इस्लाम धर्मालम्वीहरुको बकर इदका दिनमा पनि सेवा सुचारु रहने पालिकाले जनाएको छ ।
सार्वजनिक सेवा प्रवाह सम्बन्धी भएको व्यवस्था अनुसार सार्वजनिक बिदाका दिनपनि सेवा प्रवाह गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यस अघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका सेवा प्रवाह गर्दै आएको छ ।
