तनहुँ, १९ असोज
तनहुँमा दशैं मनाउन घर आए १४ दिन क्वारेन्टिन बस्नु पर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दशैं, तिहार, छठ लगायतका पर्वहरुमा स्वदेश र विदेशबाट घर आउनेको विवरण राख्ने र उनिहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो।
चार्डपर्वमा देश तथा विदेशबाट घर आउनेको संख्या अधिक हुँदा कोभिड(१९ संक्रमणको जोखिम बढ्ने भन्दै यस अवधिमा आउनेका लागि अनिवार्य रुपमा क्वारेन्टिन राखिने र निगरानीका लागि स्थानीय स्तरमा गठन भएको अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
जिल्लामा कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै जोखिम कम गर्नका लागि सबै तहमा लागू हुने गरी सावधानी अपनाउन यस्तो निर्णय गरेको तनहुँ प्रशासनले जनाएको छ।
त्यसैगरि समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढ्दै जान थालेपछि तनहुँका सबै स्थानीय तहमा एक–एक वटा एम्बुलेन्स स्टेण्डवाई राखिने भएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम झनझन बढीरहेको अवस्थालाई विश्लेषण गरी प्रत्येक स्थानीय तहमा कम्तीमा १र१ वटा एम्वुलेन्स स्टेण्डबाई राख्ने निर्णय गरेको हो ।
त्यस्तै बैकठले जिल्ला भित्र स्थापित आईसोलेसन सेन्टरहरुमा आइसोलेट गरिएका संक्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै वर्हिगमन (डिस्चार्ज) गर्दा अनिवार्य रुपमा घर परिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र पठाउनु पर्ने निर्णय समेत गरेको छ।