बुंकोट । शहिदलखन गाउँपालिका वडा नं ७ बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार विहान साढे चार बजे तिर विद्युत लाइन सट हुँदा स्वास्थ्य चौकीको भवनमा आगलागी भएको हो ।
स्वास्थ्य चौकीको स्टोर कक्षबाट सुरु भएको आगलागी अन्य कोठामा पनि फैलिएको थियो । आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तल्लाको स्टोर र हलमा भएको सबै सामग्री जलेर नष्ट भएको स्थानीय राजेश श्रेष्ठले बताए ।
उनका अनुसार आगलागीबाट स्वास्थ चौकीका प्रशासन शाखामा भएका कागजपत्र लगायत अन्य कोठामा भएको औषधी पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
स्वास्थ्य चौकीको दोस्रो तल्लामा भएको सबै सामग्री र जस्ता सबै जलेर नष्ट भएको उनले बताए । आगलागी भएको थाहा पाएपछि जम्मा भएका स्थानीयहरुले अन्य कोठाको सामग्री बाहिर निकालेका थिए ।
विहान करिब पाँच बजे देखि स्थानीय, जनप्रतिनिधि, बुङकोट रेडक्रस, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाका आगो नियन्त्रणको प्रयास थालेका थिए । आगलगाी नियन्त्रणका लागि गोरखा नगरपालिकाको दमकल समेत प्रयोग गरिएको थियो ।
अहिले आगो नियन्त्रणमा आइसकेको छ । हाल स्वास्थ्य चौकीमा आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए ।