सिमलढाप। भरतपुरको जखडीमाई मन्दिरबाट उत्तरतर्फको सालघारी कटेपछि इच्छाकामना गाउँपालिकाको वडा नं. ७ को दाहाखानी क्षेत्र आउँछ ।
भरतपुरबाट नजिकैको दूरीमा रहेर पनि विकट बस्तीको अल्लि माथिको डाँडो उक्लिएपछि लखनकोट आउँछ । र, त्यही लखनकोटको डिलमा छ एउटा डरलाग्दो र अन्धाकारयुक्त गुफा । खलनकोटको डिलमा भएकोले यसलाई लखन गुफा भनेर चिनिन्छ । गुफाभित्र चमेरो बस्ने हुँदा कतिपयले यो गुफालाई चमेरे गुफा भनेर पनि चिन्ने गरेका छन् ।
उक्त गुफालाई संरक्षण गरेर आन्तरिक पर्यटन प्रवद्र्धन गराउने योजनामा छन् यहाँका स्थानीय । गुफाको मुखमा केही वर्षपहिले नै थोरै सरकारी लगानी भइसकेको छ । तर, थप बजेटको व्यवस्थापन नहुँदा गुफाको अवस्था अलपत्रजस्तै छ । स्याङ्दीका स्थानीय दुर्गा थिङका अनुसार आफ्नो ठाउँको विकास प्रवद्र्धनमा स्थानीय सरकारले नै बढी चासो दिए हुन्थ्यो भन्ने स्थानीयको बुझाइ छ । तर, स्थानीय सरकारबाट हुनुपर्ने संरक्षणको प्रयास भएको देखिँदैन ।
‘२०७६ सालमा इच्छाकामना गाउँपालिकाबाट विनियोजित थोरै रकमले गुफामा पस्ने मुखमा केही व्यक्ति बस्न मिल्ने गरी ढलान निर्माण ग¥यौँ’, उनले भने, ‘त्यसबाहेक स्यादुले चेपाङको घरबाट गुफाको मुखसम्म सिँढी बाटो निर्माण गर्न सफल भयौँ ।’ त्यतिबेला गाउँपालिकाले एक लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर, त्यसपछि स्थानीय सरकारले चासो नदिएको उनले बताए ।
यसपटक पनि बागमती प्रदेशबाट पाँच लाख रूपैयाँ बजेट परेको छ । तर, अहिलेसम्म काम सुरू भएको छैन । समयमै काम सुरू नगरिदिँदा आएको बजेट पनि फर्किने हो कि भन्ने चिन्ता लागेको स्थानीय थिङले बताए । ‘पहिलो कुरो यस्तो ऐतिहासिक ठाउँमा सरकारी बजेट नै आउँदैन, दोस्रो कुरो आएको बजेट पनि फर्किने सम्भावना बढी देखियो’, उनले भने । यसमा स्थानीय सरकारले बढी चासो दिनुपर्ने उनको बुझाइ छ ।
भरतपुरबाट लखन गुफा हुँदै उपरदाङगढीसम्म जोड्ने पदमार्ग निर्माण गर्न सके समग्र इच्छाकामनाकै पर्यटन विकासमा ठूलो टेवा पुग्ने उनले बताए । ‘स्याङ्दीसम्म मोटरबाटोले छोएको हुँदा स्याङ्दीबाट माथि लखनकोट (गुफा) हुँदै ऐतिहासिक क्षेत्र उपरदाङगढी पुग्ने पदमार्ग निर्माण गर्न सके यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेथियो’, उनले भने, ‘स्थानीयस्तरमा भएका स्रोतसाधनको उपयोग गरी स्थानीय सरकारले काम गरिदिए राम्रो हुनेथियो ।’

गुफाको नजिकै बस्दै आएका स्यादुल चेपाङका अनुसार यो गुफा धेरै नै लामो छ । तर, अहिलेसम्म कसैले पनि गुफाभित्र पसेर कति लामो छ भनेर यकिन गर्न सकेको छैन । गुफाको विषयमा अल्लि बढी जानकार व्यक्तिहरुलाई ल्याएर यसलाई कतिसम्मको विकास गर्न सकिन्छ भनेर अध्ययन गरेर आवश्यक लगानी गरे आफ्नो ठाउँको विकास हुन्थ्यो भन्ने उनको बुझाइ छ ।
गुफा संरक्षणका लागि बजेट परेपछि अध्ययन गरेर फर्किएको इच्छाकामना गाउँपालिकाका इन्जिनियर भरत गुरूङले बताए । ‘लखनकोटमा ऐतिहासिक गुफा छ भनेर बजेट नै आइसकेपछि हामीले त्यहाँ पुगेर एक चरणको अध्ययन गरिसकेका छौँ’, उनले भने, ‘अब त्यसलाई संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गर्छौं ।’
इच्छाकामना–७ का वडा अध्यक्ष बमबहादुर थापामगरले पनि गुफाको संरक्षण गरे उपरदाङगढीलाई जस्तै पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । त्यसका लागि वडाले मात्रै प्रयास गरेर सम्भव नहुँदा यसपटक प्रदेश सरकारबाटै बजेट माग गरिएको उनको भनाइ छ । आजको चितवनपोष्ट दैनिकबाट