काठमाण्डौ, ६ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ ।मुलपानी क्रिकेट मैदानमा हुने खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ । हिजो भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २ विकेटले हराएको थियो । पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो ।समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अङ्क जोडेको छ ।
गण्डकी तेस्रो स्थानमा रहेको छ ।कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली आर्मीसँग ८० रनले पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश–२ बीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।