काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगै उनकी पत्नी मञ्जु खाण पनि तानिने निश्चित भएको छ । आफूलाई गिरफ्तार गर्ने सुइँको पाएपछि मञ्जु अहिले सम्पर्कविहीन छिन् । उनी भारत पुगिसकेको अनुमान प्रहरीले गरेको छ । मञ्जु बहालवाला सांसद पनि हुन् । गत आम निर्वाचनमा उनकै श्रीमान् बालकृष्ण खाण गृहमन्त्री थिए । त्यसबेलै पनि यो प्रकरणको छानबिनको कुरा उठेको थियो । पीडितहरु जाहेरी बोकेर प्रहरीमा पुग्दा तिनै गृहमन्त्री खाणले रोकेका थिए ।
यस्तै हिरासतमा रहेका अभियुक्तहरूलाई भेटेर खाणलाई नपोल्न आग्रह गरेका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद शेर्पा पनि फरार भएका हुन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए।
बुधबार खाण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएका हुन् । उनको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो। घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको जानकारी प्राप्त भएको छ। यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको छ।
चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए। पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाणको नाम नपोल्न प्रस्ताव गरेका थिए। एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ। यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ। पोल खुल्ने डरले कांग्रेस नेतृत्वले शेर्पालाई योजनाबद्ध रूपमै लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ । मेछापका कांग्रेस नेता शेर्पा ०७० का कांग्रेसका तर्फबाट संविधानसभा सदस्य र ठेकेदार पनि हुन्।
आरजु राणा देउवा भने भाग्न खोज्दाखोज्दै प्रहरीले रोकेपछि आफ्नै निवास फर्किएकी छन् । सुरुमा उनी काठमाडौंबाट सिंगापुर जान खोजेकी थिइन् । यही प्रकरणका कारण सिंगापुर यात्रा रोकिएको छ । सिंगापुर जाने कार्यक्रम रोकिएको कुरा शुक्रबार एक अन्तर्वार्तामा उनले स्वीकार गरेकी छन् । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट जान अनुकूलता नमिलेपछि उनी हेटौंडा हुँदै सिमरा पुगेकी थिइन् । उनी जहाँ गए पनि प्रहरीले निगरानी गर्न छाडेन । उनलाई प्रहरीको घेराले नछाडेपछि भागेर भारत जान असम्भव भएको छ । त्यसपछि उनी काठमाडौं फर्किएकी हुन् ।
आरजु घर फर्किए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने चैनसँग सुत्न पाइरहेका छैनन् । उनको शरीरको तापक्रम निकै बढेको छ । खाण पक्राउ परेकै दिनबाट २ दिन चलेको कांग्रेस पदाधिकारी बैठकमा पनि उनी निकै अत्तालिएका थिए । एकै छिन एउटा कुरा गर्ने र एकछिनपछि अर्को कुरा गर्ने उनको स्वभावलाई लिएर धेरै कांग्रेस नेताहरुले कानेखुसी पनि गरेका थिए ।
बैठकमा खाणलाई निलम्बन गर्नुपर्ने आवाज उठे पनि देउवा त्यस विषयमा केही बोल्न सकेनन् । आफ्नै पत्नीलाई पनि निलम्बन गर्नुपर्ने अवस्था आउन सक्ने र रातो पासपोर्ट खोसिने डरका कारण उनी सकेसम्म यस प्रकरणमा कसैलाई निलम्बन गर्ने पक्षमा छैनन् । फेरि पनि उनको प्रयास आरजुलाई सिंगापुर भगाउनेमै रहने निकटस्थहरुले बताएका छन् । त्यसका लागि उपचारको बहाना निकाल्न सकिनेछ । यसअघि पनि उपचारका नाममा आरजु भारत र सिंगापुर पुगेर केही शंकास्पद व्यक्तिहरुलाई भेट्न पुगेको प्रहरीको विवरण छ ।
केही पीडित तथा अभियुक्तहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा पूर्वगृहसचिव महेश्वर न्यौपानेलगायतको नाम लिएका छन् । पीडितहरूले बताएअनुसार आरजु र मञ्जुले प्रत्यक्ष पैसा लिएको पुष्टि हुने गरी थप प्रमाण प्रहरीले खोजिरहेको छ । मुख्य रुपमा नक्कली शरणार्थी बनाउने काम तत्कालीन मन्त्री खाण र सचिव टेकनारायण पाण्डेको मिलेमतोमा भएको पाइएको छ ।
गृहसचिव प्रेमकुमार राई छउन्जेल बिचौलियाले गृहमन्त्रालय दुरुपयोग हुन दिएका थिएनन् । तत्कालीन मन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरजले नै यो प्रयास गरेका भए पनि असफल भएका थिए । मन्त्री खाण र सचिव पाण्डे भएर आएपछि उनले मन्त्रालय सिधै गिरोहको जिम्मा लगाएको प्रहरी अनुसन्धानले देखाएको छ । यसमा गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा रहेको प्रतिवेदन किर्ते गर्नेमा अन्य कर्मचारीको पनि संलग्नताको आशंका गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
हालसम्म यस मुद्दामा १२ जना प्रहरीको नियन्त्रणमा छन्। जसमध्ये नौजनाको बयान भइसकेको छ । यसै क्रममा प्रहरीले खाणको घरबाट बरामद गरिएको एक महत्त्वपूर्ण कागज उनले इन्स्पेक्टरको हातबाट खोसेर चपाएर निलेको पाइएको छ । खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए। त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित महत्त्वपूर्ण सूचना थियो ।