काठमाडौँ । नेपाल सरकारले ८औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वितरण गरेको 'राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान' मा चार सङ्गठनहरूले भत्सर्ना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारि गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), राष्ट्रिय दलित पत्रकार संघ, मधेसी पत्रकार समाज, मुस्लिम जर्नलिष्ट क्लब लगायतका संगठनहरुले समावेशी समानुपातिक प्रतिनिधित्वको चरम उपहास गर्दै गरिएको छनोट प्रक्रियाप्रति गम्भीर असहमति जनाएको हो ।
नेपाल सरकारले ८औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०८० वैशाख २४ गते वितरण गरेको 'राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान' मा पुरस्कृत र सम्मानित व्यक्तित्वप्रति सम्मान प्रकट गर्दै छनोट प्रक्रिया समावेशीताको सिद्धान्त विपरित रहेको ठहर गरेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राई, राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नाल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र मुस्लिम जर्नलिष्ट क्लब, नेपालका अध्यक्ष आलम खानले हस्ताक्षर गरेको बिज्ञप्तिमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसङ्ख्यक समुदायका पत्रकारहरूको संगठनले हरेक परिवर्तनका आन्दोलनहरूमा सहयात्री आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायमाथि राज्यको यस किसिमको व्यवहार कुनै पनि हालतमा स्वीकार्य नगर्ने उल्लेख छ ।
नेपाल सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक पद्धति अवलम्बन गरेको राज्य व्यवस्थामाथि आफै प्रहार गरेको र उनीहरूको योगदानलाई सम्मान र कदर गर्न तयार नरहेको प्रमाणित गरेको बताएका छन् ।
सरकारको यस कदमको भर्त्सना गर्दै आगामी दिनहरूमा यस्ता एकल नस्लवादी चरित्रमा सुधार ल्याउन र साझा, समावेशी, योगदानमा आधारित प्रतिभाहरू पुरस्कृत हुन सक्ने विधि, पद्धतिको निर्माण गर्न जोडदार माग समेत गरेको छ ।
