जलविरे । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. ६ जलविरेमा अवस्थित लामो झरनामा नयाँ वर्षको दिन आन्तरिक पर्यटकको भिड लागेको छ । जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकसित हुदै गैरहेको लामो झरनामा नयाँ वर्षको दिन आज झरना अवलोकनको लागि आउने आन्तरिक पर्यटकको भिड लागेको हो ।
नयाँ वर्षको दिन मात्रै झण्डै १३ सय जनाले झरना अवलोकन गरेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले जानकारी दिए । उनका अनुसार टिकट काटेरै १ हजार १ सय ५० जनाले आज अवलोकन गरेको छ भने निःशुल्क प्रवेश सुविधाबाट करिब १ सय ५० हाराहारीले झरना अवलोकन गरेका छन् ।
झरना अवलोकनका लागि इच्छाकामना गाउँपालिकावासीलाई निःशुल्क प्रवेश सुविधा छ भने अन्यलाई प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्ने गर्छ । यो झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढि रकम आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ । गाउँपालिकाले दिएको जानकारी अनुसार पछिल्लो ६ महिनामा गाउँपालिकाले लामो झरना आउने पर्यटकहरुबाट प्रवेश शुल्क वापत झण्डै १४ लाख भन्दा बढि आम्दानी गरेको थियो ।
गाउँपालिकाले आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न अन्य गतिविधिहरु पनि गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।