नारायणगढ । नेपाली भाषामा बनेको गुरूङ संस्कृतिमा आधारित चलचित्र ‘ह्रोसैँ ङ्हो’ अर्थात् आफ्नै कर्मको नारायणगढमा भव्य प्रदर्शन गरिएको छ। काठमाडौँ, लम्जुङ, कास्की, गोरखा हुँदै मलेसियामा समेत प्रदर्शन गरिएको चलचित्रलाई शनिबार नारायणी कला मन्दिरमा प्रदर्शन गरिएको हो। दर्शकहरूको उल्लेख्य उपस्थितिमा दुई शो प्रदर्शन गरिएको थियो।

सामाजिक विषयवस्तुलाई मुख्य कथा बनाइएको चलचित्रले माया, प्रेम, वियोग, विभेदलगायतका विषयलाई उठाउने प्रयास गरिएको छ। द्वन्द्व निर्देशक जनक गुरूङको लेखन÷निर्देशनमा बनेको चलचित्र रविन गुरूङको सहनिर्देशन र परिकल्पनामा निर्माण भएको हो। तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका रविन गुरूङले नवज्योति भिजनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन्।

उनीसँगै लालबहादुर गुरूङ, शमशेर गुरूङ, मन्त्रीजंग गुरूङ, प्रतिमा गुरूङ, जुनु गुरूङ, माया गुरूङ र जमान गुरूङले समेत लगानी गरेको चलचित्रमा रविन गुरूङ, वीरबल घले, जनक गुरूङ, अनुता गुरूङ, आकृती गुरूङ, माया गुरूङ, रेशम गुरूङ, राम गुरूङ, श्रद्धा गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन्।
खेम थापामगरले छायांकन गरेको चलचित्रलाई मेखबहादुर थापामगरले सम्पादन गरेका हुन्। चलचित्रमा नृत्य निर्देशन रविन गुरूङ र मनाङ गुरूङले गरेका हुन् भने द्वन्द्व जनक गुरूङले निर्देशन गरेका हुन्। चितवनमा दर्शकको उपस्थिति अनपेक्षित देखिएपछि चलचित्रले सोचेभन्दा बढी सफलता पाएको निर्माण टिमको दाबी छ। चलचित्रका निर्माता रविन गुरूङले दर्शकसँग बसेर चलचित्र हेर्दा आफैँलाई भावुक बनाएको अनुभव सुनाए।
द्वन्द्व निर्देशक जनक गुरूङले लामो समय नेपाली चलचित्रको द्वन्द्व निर्देशक भएर काम गरेको अनुभवकै आधारमा चलचित्रको निर्देशन गर्दै आएको बताए। उनले करिब एकसयभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशक भएर काम गरिसकेका छन्। ‘चलचित्र क्षेत्रमै उर्जाशील जीवन बिताएँ । त्यसैले अब द्वन्द्व निर्देशकमा मात्रै सीमित हुन चाहिनँ,’ उनले भने। उनले तामाङ र थारू भाषामा बनेको चलचित्रसमेत निर्देशन गरेका छन्। चलचित्रकर्मीलाई तमू सञ्चारकर्मी संघ चितवनले स्वागत एवम् सम्मान गरेको थियो।
