काठमाडौं । नेतासँग साँठगाँठ भएका प्रहरी अधिकारीहरुले कतिसम्म गर्दा रहेछन् भन्ने कुरा एक डिएसपीको घटनाले उजागर गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले एक वर्षको अवधिमा करोडौं रकम असुलेको खुलेको छ । हाल निलम्बनमा रहेका डिएसपी केसीको सम्पत्ति विवरण सुनेर प्रहरी अधिकारी नै चकित परेका छन् ।
डेरामा स्रोत नखुलेको सुन र नगद बरामद भएपछि पक्राउ परेका डिएसपी केसीमाथि यतिबेला विस्तृत अनुसन्धान भइरहेको छ । जसक्रममा उनले नाम अनुसार नै काम गरेको र व्यापक भ्रष्टाचार गरेको पत्ता लागेको छ ।
स्रोतका अनुसार उनले श्रीमतीको बैंक खातामै घुस बुझ्ने गर्दथे । उनको श्रीमती एक बैंकमा कर्मचारी थिइन् । उनको खातामा स्रोत नखुलेको ठूलो रकमको बारम्बार कारोबार देखिएपछि बैंकले छानबिन गरी उनलाई जागिरबाट हटाएको थियो । त्यसविषयमा राष्ट्र बैंकले थप छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने तयारी गरेपछि त्यतिबेला राजनीतिक पहुँचका आधारमा रोकिएको थियो ।