धादिङ ,२० फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको कार्यपालिका बैठक एसियाकै सबैभन्दा ठुलो नोहक गुफामा भएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा रहेको एसियाकै ठुलो नोहक गुफामा शुक्रबार र शनिबार गाउँ कार्यपालिकाको बैठक बसेको हो ।
बैठकले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रचार प्रसारका लागि आगामी वर्ष नोहक गुफा महोत्सव गर्ने निर्णय गरेको छ । बैठकबाट नोहक गुफाको विकास, पर्यटन प्रवर्द्धन, विकास तथा विस्तारका लागि गाउँपालिकाले नोहक गुफा विकास समितिको गठन गर्ने निर्णय पनि भएको छ ।
बैठकमा गुफा र गुफासम्म पुग्ने बाटो, खानेपानी, विद्युत् सञ्चार लगायत भौतिक पूर्वाधारहरूको विकास गर्ने, गुफाको प्रचार प्रसार गरी पर्यटकहरू माझ पुर्याउने र पर्यटन प्रवद्र्धन गर्ने लगायत विषय वस्तुहरूमा छलफल भएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले बताए ।
अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले ९९ करोड प्रदेश सरकारबाट बजेट विनियोजन भैसकेकोले एक वर्षको अवधिमा नोहक गुफा नजिक सम्म सडक विस्तार हुने र यात्रा सहज बन्ने बताए । धादिङ बेनीघाट रोराङमा रहेको एशियाकै ठुलो गुफा प्रचार प्रसार हुन नसकेकोले प्रचार प्रसारमा जोड गरिदिन अग्रह गरे ।
साथै उनले यस गाउँपालिकामा ४२ प्रतिशत चेपाङ समुदाय रहेको बताए । उनले पालिकाको नामाकरण चेपाङ भाषाबाटै गरिएको बताए ।
चेपाङ भाषा रोराङको अर्थ फुलबारी रहेको बताए । चेपाङको जीवन स्तर उकास्नका लागि घरेलु उद्यमशिलतामा जोड दिने र चेपाङ बस्तीलाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न होमस्टे रिसोर्ट निर्माण गर्ने बताए ।
साथै गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले गाउँपालिकाले कार्यपालिका बैठक घुम्ती बैठकको रुपमा प्रत्येक वडामा गएर बस्ने गरेको बताए । यसरी बैठक बस्दा जनतासँग भावनात्मक सम्बन्ध रहन सक्ने विकास निर्माणका कुराहरुमा स्थानिय जनतासँग साक्षात्कार हुन सक्ने भएकाले कार्यपालिका बैठक घुम्ती बैठकको रुपमा बस्ने गरेको बताए । सोही अनुसार वडा नम्बर ८ को पर्यटकीय स्थल नोहक गुफामा बैठक बसेको बताउँदै यसले गुफाको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
गुफाको प्रचारप्रसार गरी पर्यटनको प्रवर्द्धन गर्न सके गाउँपालिकाको मात्रै नभएर देशकै गरिमा बढ्ने र गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड बन्ने उपाध्यक्ष श्रेष्ठले बताए ।
नेपाली कांग्रेस बेनीघाट रोराङका सभापति ऋषिनाथ त्रिपाठीले गुफाको प्रचार प्रसार र आवश्यक भौतिक पूर्वाधारहरूको विकासमा गाउँपालिकाले विलम्ब गर्न नहुने बताए । गुफाको प्रवर्द्धन गरी पर्यटनबाट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हिसाबले कार्यक्रमहरू अगाडि बढाउन सभापति त्रिपाठीको सुझाव थियो ।
नेकपा माओवादी केन्द्र, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कँडेलले गुफाको प्रचार प्रसारमा टेवा पुर्याउने हिसाबले गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठक गुफामा राख्नु ऐतिहासिक कदम भएको बताए। बैठक गुफाको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा सावित हुने अध्यक्ष कँडेलको भनाई थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी, बेनीघाट रोराङका अध्यक्ष सन्तोष धरेलले गुफाको बारेमा अझै पनि थुप्रै खोज अध्ययन अनुसन्धान जरुरी रहेको बताए । गुफाको प्रचार प्रसार, प्रवर्द्धन र विकासका लागि निरन्तर लागि पर्न आवश्यक रहेको उनको भनाई छ ।
नोहक गुफा प्रवद्र्धनका लागि राजनीतिक दलका प्रतिनीधि, गाउँपालिका प्रशासकिय अधिकृत भीष्म कुमार मल्ल सहितका कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनीधि र सञ्चारकर्मी १५० जना भन्दा बढी जम्बो टोली शुक्रबार गाउँपालिका कार्यालयबाट नोहक गुफाको लागि यात्रा गरेको थियो ।
बाटोको बीच बीचमा टोलीलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए । उक्त टोली शुक्रबार साँझ घाङवाङ पुगेर बास बसेको थियो भने शनिबार बिहान ८ बजे गुफा पुगेको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मझिमटारबाट १९ किलो मिटर कच्चि सडक हुदै र थप करिव दुई घण्टा पैदल यात्रा गरेर बेनीघाट रोराङको ८ न. वडा अन्तर्गत घाङवाङ पुग्न सकिन्छ र पुन घाङवाङबाट एक/डेढ घण्टाको पैदल यात्रामा गुफा पुग्न सकिन्छ ।