काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रदेश नामाकरणको विषयले प्रवेश पाउने भएको छ ।
गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले आफ्नो प्रदेशको नामाकरण गर्न लागेको हो । स्रोतका अनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा पेस गर्ने र पारित गर्ते तयारी छ ।
‘कोशी प्रदेश’ राख्नेमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति भइसकेको माओवादी नेताहरू बताउँछन् । अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोसी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने तयारी भएको थियो ।तर प्रदेशको नाममा जातीय पहिचान जोड्ने की जातीय पहिचान नजोड्ने भन्ने विषयमा विवाद हुँदा प्रदेशको नाम राखिएको थिएन ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोतले बतायो ।
प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत चाहिन्छ । प्रदेश १ मा ९३ जना सांसद् छन् । दुई तिहाइ पुग्न ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।