भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले पालिकालाई प्रविधिमैत्री बनाउदै इन्टरनेटबाट घरमै बसेर कर तिर्न मिल्ने व्यवस्था गरेको छ । गाउँपालिकाले बिहिबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि इन्टरनेटबाट घरमै बसेर कर तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरेको हो।
अब गण्डकी गाउँपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण करहरु नागरिकहरुले इसेवा, खल्ती, प्रभुपे र कनेक्ट आईपिएस जस्ता डिजिटल भुक्तानी सेवाप्रादायक मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

यो सेवा सुरु गर्ने जिल्लाकै पहिलो पालिका गण्डकी गाउँपालिका रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए । गाउँपालिकाले उपलब्ध गराएको कर आईडि प्रयोग गरेर ती डिजिटल भुक्तानी सेवाप्रादायकको एपबाट नागरिकहरुले आफ्नो कर कति तिर्न बाँकी छ भनेर हेर्न सकिनुका साथै घरमै बसेर इन्टरनेटबाटै सजिलै भुक्तानी गर्न सकिने उनले बताए । यस्तै भुक्तानी पश्चात सोही एपबाट रकम तिरेको रसिद समेत पाईने बताए ।
गाउँपालिकाले आजैदेखि लागु हुने गरी ५० प्रतिशत छुटमा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु गरेको छ । शिविर १ महिनासम्म चल्नेछ भने छुटको व्यवस्था २०८० को असार मसान्त सम्म रहने गाउँपालिकाले जानकारी दिएको छ ।