Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शहिद लखन गाउँपालिकामा सहिद जयसिंह चुमी मगरको सालिक अनावरण

शहिद लखन गाउँपालिकामा सहिद जयसिंह चुमी मगरको सालिक अनावरण

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
शहिद लखन गाउँपालिकामा सहिद जयसिंह चुमी मगरको सालिक अनावरण
images

बुंकोट । शहिद लखन गाउँपालिकामा जयसिंह चुमी मगरको सालिक अनावरण गरिएको छ । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाई र गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले संयुक्त रुपमा सालिकको अनावरण गरेका हुन् ।

नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा जयसिँह चुमीको सालिक निर्माण गरी अनावरण गरिएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।

पालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेटबाट सालिक निर्माण गरिएको थियो ।
राणा शासनको अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि भएको प्रथम जनविद्रोहमा गठित जनसरकारका प्रमुख प्रथम सहिद लखन थापा थिए भने जयसिंह चुमी मगर जनरल(सेनापति) थिए ।

राणशासन विरुद्ध विद्रोही किल्ला निर्माण गरिएको काहुले भँगारमा वि.सं. १८९० मा जन्मिएका जयसिंह चुमी रानामगर युवा अवस्थामा नेपाली सेनाको पुरानो गोरख गणमा भर्ना भै कप्तानसम्म भएका थिए ।

सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

प्रथम जनविद्रोही अभियानका क्रममा राणा शासन व्यवस्थाविरुद्ध सशस्त्र विद्रोही किल्ला निर्माण, राजनीतिक संगठन निर्माणमा धर्म र देवीदेवताको रणनीतिक उपयोग, प्रजातान्त्रिक शासन व्यवस्थाका लागि राजनीतिक दस्तावेज निर्माण, जनसेवा र जनसरकारको गठन तथा वैकल्पिक सत्ताको स्थापना लगायतका कार्यमा उनीहरु सहभागी भएका थिए ।

जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

यसअघि प्रथम सहिद लखन थापाको सालिक केही बर्षअघि नै निर्माण गरिसकिएको थियो । जयसिँह चुमी मगरको सालिक अनावरणअघि प्रथम सहिद लखन थापा मगरको सालिकमा माल्यार्पण गरिएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - १९:४९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology