Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

आफ्नो अन्त्येष्टिमा को–को आउँछ भनेर हेर्न मरेको नाटक गरेपछि...

आफ्नो अन्त्येष्टिमा को–को आउँछ भनेर हेर्न मरेको नाटक गरेपछि...

images

एजेन्सी

१७, माघ २०७९
आफ्नो अन्त्येष्टिमा को–को आउँछ भनेर हेर्न मरेको नाटक गरेपछि...
images

ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् । ‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको देखेका थिए । हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरेको नाटक गरे । त्यो पनि, अन्तिम संस्कारमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।

जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोसको सोसल मिडियामा बाल्टाजारको निधन भएको कुरा पोस्ट गरे । त्यसमा लेखिएको थियो, ‘यो दुःखद अपराह्नमा बाल्टाजारको निधन भएको खबर दिन चाहन्छु । थप जानकारी छिट्टै दिनेछौँ ।’ त्यसको एक दिनअघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालको अगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले यो कुरा धेरैले पत्याए ।

लेमोसको परिवारलाई यो घोषणाले चकित बनायो किनभने उनी अस्पताल भर्ना भएको कसैलाई पनि थाहा थिएन । उनका एक जना भतिजो अल्बर्ट आइन्स्टाइन अस्पताल गएर उनीबारे बुझे तर बाल्टाजार लेमोस त्यहाँ भर्ना भएको कुनै रेकर्ड थिएन ।

बाल्टाजारका अनलाइनका साथीले उनी बितेको दुःखद खबर सेयर गर्न सुरु गरे । कमेन्टमा धेरैले श्रद्धाञ्जली दिए र मृत्यु के कारणले भएको थियो भनेर धेरैले सोधिरहेका थिए । तर यसबारे केही जानकारी दिइएको थिएन । यद्यपि, अन्तिम संस्कार कहाँ र कहिले गरिनेछ भनेर उनको फेसबुक अकाउन्टमा भने जानकारी दिइएको थियो ।

जनवरी १८ तारिखमा उनका साथीभाइ र आफन्त बाल्टाजारको पैतृक घर भएको सहर कुरिटिबामा जम्मा भयो जहाँ उनको कथित अन्तिम संस्कार आयोजना भइरहेको थियो । एक प्रहरमा बाल्टाजारले आफ्नो जीवनबारे बोले । त्यति बेला धेरै मानिस रोए किनभने धेरैले त्यो रेकर्ड गरिएको होला भनेर सोचेका थिए । त्यसपछि एउटा ढोका खोलियो र उनी सबैको सामु उपस्थित भए ।

अनुमान गर्न सकिन्छ कि त्यति बेला मानिसहरूको प्रतिक्रिया कस्तो थियो होला । कोही रुनु थाले, कोही मुख खोलेर हेरिरहे तर जब उनले आफू मरेको नाटक गरेको भने तब त्यहाँ उपस्थित धेरैले उनीमाथि अत्याचारको आरोप लगाए ।

‘तिमीले के चाहेको थियौ, त्यो पायौ बाल्टाजार, मानिसहरूको ध्यान आकर्षित गर्न । इभेन्ट फोटोग्राफरहरूको सबै समूहमा तिम्रो मृत्युको कुरा भइरहेको छ । सबै जना दुखित थिए । कस्तो अनावश्यक ठट्टा । मलाई लाग्छ ‘तिम्रो अन्तिम संस्कार’ मा आएका सबै जनासँग तिमीले फोटो खिच्नुपर्छ । मैले तिमीलाई निजी रूपमा चिन्दिनँ तर हाम्रो कहिल्यै भेट नहोस् भन्ने म चाहन्छु,’ एक जनाले वास्तविकता थाहा पाएपछि कमेन्टमा लेखेका छन् ।

बाल्टाजार लेमोसको कथा सोसल मिडियामा आगो सरी फैलियो । उनको उद्देश्य के थियो भनेर धेरैले उनलाई सम्पर्क पनि गरे । उनले मानिसहरूलाई दुःखी बनाउनु आफ्नो अभिप्राय नभएको बताउँदै आफ्नो मृत्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन यस्तो गर्नुपरेको बताए ।

‘यसबारे मलाई पाँच महिना अघि सोच आएको थियो । म साँच्चै नै मरेको हुँ भनेर देखाउन चाहन्थे । मानिसहरूले यसलाई आफ्नै तरिकाले व्याख्या गरे । तर मेरो अन्तिम संस्कारमा को आउँछ भनेर म हेर्न चाहन्थेँ,’ लेमोसले भने । ‘मैले यसबारे कसैलाई पनि भनिनँ किनभने यसैले काम चल्छ जस्तो लाग्यो । कसैलाई दुःखी बनाउने, मान हानी गर्ने मेरो उद्देश्य थिएन । म सबैसँग माफी माग्न चाहन्छु ।’

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०८:०२:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology