काठमाण्डौ । दुर्लभ हरियो पुच्छे्रतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ ।
आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवम खगोलविद् डा. सनतकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो ।
यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ ।यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् ।
नेपालबाट यो दुर्लभ पुच्छ्रेतारालाई धुव्रताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत गर्न सकिने छ ।