चितवन । इच्छाकामनामा बौलाहा कुकुरले आतङ्क मच्चाएको छ। इच्छाकामना गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीलगायतका गाउँमा बौलाहा कुकुरले टोक्दा २५ जना स्थानीय घाइते भएका हुन्। घरमा काम गरिरहेका र बाटोमा हिँडिरहेका मानिसलाई टोक्दा घाइते भएका स्थानीयको इच्छाकामनामै उपचार भइरहेको छ।
गाउँपालिकाबाट घटनाबारे खबर आएपछि भरतपुरबाट स्वास्थ्यकर्मीको टोली इच्छाकामनामै पुगेर रेबिजविरुद्धको सुई लगाएका छन्। घटनाबारे जानकारी पाएपछि भरतपुर अस्पतालको टोलीले गाउँपालिकामै पुगेर रेबिजविरुद्धको सुई लगाइएका भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बौलाहा कुकुरले टोकेको खण्डमा अवस्था हेरी तीनदेखि पाँच पटकसम्म सुई लगाउनुपर्छ। थप जोखिम हुनबाट जोगाउन गाउँमा कोही कसैमाथि बौलाहा कुकुरले हमला गरेर घाइते भएमा तत्काल गाउँपालिकाको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सूचना प्रवाह गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिए।