सजना तिमल्सिना, काठमाडौं । जलवायु परिवर्तनको असर बढ्दै जाँदा यसबाट पिरोलिनेहरू पनि बढ्दै छन् । पछिल्ला वर्षमा नेपालमा पानी पर्ने तरिका र समय फेरिँदै गएको छ ।
पोहोरको असोज अन्तिममा बेमौसमी वर्षा भएकामा यसपाली १४ दिन ढिलो गरि गत असोज ३० गते मात्रै मनसुन बाहिरिएको थियो । त्यसपछि अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । पानी पर्ने प्रणाली फेरिनु, पानीका मुहान सुक्दै जानु, तापक्रम बढ्नु, हिउँ र हिमताल पग्लिने दर बढ्नुलाई जलवायु परिवर्तनका सङ्केतका रुपमा लिने गरिएको छ ।
यस्ता सङ्केत बढ्दै गएकाले प्रभाव कम गर्ने बारे तयारी थालिहाल्नुपर्ने जलवायु विज्ञ अजय दिक्षितको सुझाव छ । जलवायु परिवर्तनको असरका कारण बढ्दो विपदको सामना गर्न स्थानीय तह जुट्नुपर्ने दैलेखको आठबीस नगरपालिका प्रमुख तर्कबहादुर बडुवालले बताउनुभयो ।
जलवायु परिवर्तनको प्रभाव, ठाउँ अनुसार फरक हुने भएकाले आफ्नो क्षेत्रको सम्भाव्य जोखिम अध्ययन गरी त्यसै अनुसारका योजना बनाउनुपर्नेमा जनप्रतिनिधिहरू भने एकजुट देखिएका छन् । वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत दीपा वलीले जलवायुजन्य विपद्बाट जोगिन विषयगत समिति बनाएर अघि बढेको बताउनुभयो । जलवायु परिवर्तनको जोखिम कम गर्ने उपाय पहिल्याउन नागरिक र तीनै तहका सरकारले हातेमालो गर्न अपरिहार्य देखिएको छ ।