उषा तामाङ, काठमाडौँ । कोरोना सङ्क्रमणका कारण करिब तीन वर्ष थलापरेको नेपालको पर्यटन क्षेत्र फेरि लयमा फर्कन थालेको छ । जसका कारण रसुवाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को आठ महिनामा हवाइ मार्गबाट तीन लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटक भित्रिने क्रम बढेसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्ज, धार्मीकस्थल गोसाइँकुण्ड, तामाङ सम्पदा मार्गसहित पार्वतीकुण्ड, सूर्यकुण्डलगायत स्थानमा पर्यटकीय गतिविधि बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममात्रै १४ हजार तीन सयभन्दा बढी पर्यटक रसुवा पुगेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
उनीहरूको सहजताका लागि रसुवाका तीन सय होटल तथा लजमा तीन हजार पर्यटक बस्न मिल्नेगरी ब्यवस्था मिलााईएको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान गजुरेलले बताउनुभयो । रसुवा भित्रने पर्यटकलाई स्थानीय उत्पादन नै खुवाउने गरिएकाले व्यावसायिक कृषि क्षेत्रमा पनि केही राहत मिलेको उहाँले बताउनुभयो ।