गोरखा । गोरखामा गुडिरहेको स्कोरपियो जीपमा एक्कासी आगलागी भएको छ ।
गण्डकी गाउँपालिका –८ स्थित बेनिघाट–आरुघाट सडकको चुल्ठे भिरमा गुडिरहेको जीपमा एक्कासी आगलागी हुँदा गाडी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सोमदास ढकालले बताए ।

काठमाडौंबाट फुजेलतर्फ जादै गरेको बा. १६ च ७५४० नं.को सिल्भर कलरको स्कारपियो जीपमा विहिबार दिउँसो एक्कासी आगलागी भएको उनले बताए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
गाडीमा सवार ६ जना यात्रु र उनीहरुका सामान भने सुरिक्षत स्थानमा सारिएको ढकालले जानकारी दिए । उनकाअनुसार चितवनको रत्ननगर न.पा. १५ का लक्ष्मण लामिछानेले चलाएको गाडीमा आगलागी भएको हो । सो जीपमा सवार यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।